वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा.डा. ऋषिकुमार काफ्लेको भनाइ
हामी सबैलाई थाहा छ, प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपण गरिएको हो । मिर्गौला प्रत्यारोपण गरेको पनि १२ वर्षभन्दा बढी भएको छ । मिर्गौला अथवा कुनै पनि अंग प्रत्यारोपण गरिएपछि शरीरको रोग प्रतिरोधात्मक क्षमता अर्थात् एन्टिबडिज कमजोर बनाइन्छ । किनकि, प्रत्यारोपण गरिएको अंगलाई शरीरले अस्वीकार नगरोस् भनेर औषधि दिइएको हुन्छ । त्यो औषधि प्रयोग भएपछि शरीरमा आएका अन्य कीटाणुलाई चिन्ने र अस्वीकार गर्ने क्षमता पनि कमजोर हुन्छ ।
अर्काको मिर्गौला राखेको शरीरले नचिन्दासम्म निरन्तर काम गरिरहन्छ । तर, चिनेपछि समस्या देखिन थाल्छ । प्रधानमन्त्री ओलीको शरीरले अर्काको मिर्गौला प्रत्यारोपण गरेको १० वर्षपछि चिनेको छ । अर्काको मिर्गौला हो भन्ने चिनेपछि शरीरले अस्वीकार गर्न एन्टिबडिज बनाउन थाल्छ । अहिले प्रधानमन्त्रीको पनि त्यही भएको हो ।
एन्टिबडिज हटाउन ‘प्लाज्मा फेरेसिस’ गर्नुपर्छ । यो प्रक्रियामा रगतबाट एन्टिबडिज निकालिन्छ अथवा एन्टिबडिज बढ्न नदिने औषधि प्रयोग गरिन्छ । यो उपायले कसैलाई फाइदा पनि गर्छ, कसैलाई नगर्न सक्छ । एक–दुईपटक गर्दा सुधार भए थप केही पटक गर्नुपर्छ ।
एक–दुईपटकमा सुधार नभए थप प्रयास गरिँदैन । तर, मिर्गौलामा सुधार भए/नभएको दुई सातामै स्पष्ट हुन्छ । प्लाज्मा फेरेसिसबाट सुधार नभए मिर्गौला प्रत्यारोपण वा डायलाइसिसमै जानुपर्छ । मिर्गौलाले पिसाबबाट फाल्न नसकेर रगतमा जाम भएको फोहोर डायलाइसिस गरेर हटाइन्छ ।
डायलाइसिसमा रगत क्रमशः बाहिर निकालिन्छ, सफा गरिन्छ र पुनः राखिन्छ । यसको चक्र हुन्छ । नेपालमा पनि एउटै व्यक्तिमा दुईपटकसम्म मिर्गौला प्रत्यारोपण भएका छन् । दोस्रोपटकको प्रत्यारोपण आयु पनि सामान्यतया पर्याप्त हुन्छ । नयाँ पत्रिकामा प्रकाशित छ ।
प्रकाशित मिति: बुधबार, भदौ ४, २०७६