विराटनगर । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले सप्तकोसी नदीको डुबान र कटानबाट पीडित परिवारलाई उचित राहत दिलाउन प्रदेश सरकारले प्रयास गरिरहेको बताएका छन् ।
प्रदेशसभाको विगतका बैठकमा शून्य समयमा उठेका प्रश्नको जवाफ दिँदै सोमबार उनले सप्तकोसी नदीबाट नेपालका सात हजार छ सय ६३ बिगाह आठ कट्ठा दुई धुर जमिनमा भएको क्षति भारत सरकारले व्यहोर्ने जानकारी दिँदै सो क्षतिपूर्तिका लागि प्रदेश सरकारले संघीय सरकारसँग प्रयास गरिरहेको बताए ।
उनले तत्कालीन समयमा ८० करोड ४६ लाख क्षतिपूर्ति भारत सरकारले व्यहोर्नुपर्ने भन्दै कोसी पीडित उत्थान समाजले उठाएको मागप्रति प्रदेश सरकार गम्भीर रहेको उल्लेख गरे । मन्त्री कार्कीले प्रदेशसभाको बैठकमा विशेष सयममा प्रतिपक्ष दलका नेता राजीव कोइरालाको प्रश्नको जवाफमा कोसी आरक्षण क्षेत्रमा केही दिनपहिले मरेका ४४ चौपायामा ‘एन्थ्रेक्स’ नामक जीवाणु नरहेको र यस विषयमा अझ जाँच भइरहेको जानकारी गराए ।
उनले यस्तो घटना विगतमा पनि भएकोे पाइएकाले पशु रोग नियन्त्रण महाशाखा काठमाडौंमा अनुसन्धान भइरहेको बताउँदै बाढी र पहिरोबाट पीडित परिवारलाई राहत उपलब्ध भइरहेको स्पष्ट पारे ।
यस्तै, मन्त्री कार्कीले केही दिनपहिले प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको नेतृत्वमा चीनको औद्योगिक पार्क भ्रमणमा जान भएको खर्च आयोजकले नै व्यहोरेको जानकारी गराए ।
यसैगरी सार्वजनिक, निजी, साझेदारी तथा लगानी प्राधिकरणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी मन्त्री कार्कीको प्रस्ताव पारित भएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ३, २०७६