काठमाडौं । झण्डै एक साता ढिलो गरी मौसम प्रणाली भित्रिए पनि यस वर्ष गत वर्षकै हाराहारीमा रोपाइँ सम्पन्न भएको छ । गएको आइतबारसम्म ९४.४३ प्रतिशत भूभागमा रोपाइँ सम्पन्न भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ ।
गत वर्षको तुलनामा यस वर्ष ०.९६ प्रतिशतले रोपाइँमा कमी आएको छ । गत वर्ष सोही अवधिमा ९५.३९ प्रतिशत भूभागमा रोपाइँ सम्पन्न भएको थियो ।
यस्तै आइतबारसम्म प्रदेश नम्बर १ मा ९३.४९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । प्रदेश १ मा गत वर्ष ९४.४४ प्रतिशत रोपाइँ भएको थियो । मुख्य धान क्षेत्र मानिएको प्रदेश २ मा गत वर्षको तुलनामा झिनो मात्रामा रोपाइँ बढेको छ । प्रदेश २ मा गत वर्ष ९३.१७ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ९३.३१ प्रतिशत रोपाइँ भएको केन्द्रले जनाएको छ ।
प्रदेश नम्बर ३ मा पनि गत वर्षको तुलनामा रोपाइँ बढेको छ । गत वर्ष ९४.२२ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ९६.९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गण्डकी प्रदेशमा भने रोपाइँ घटेको छ । सो प्रदेशमा गत वर्ष ९६.८७ प्रतिशत रोपाइँ भएको थियो । यस वर्ष झण्डै आठ प्रतिशतले रोपाइँ खुम्चिएको छ । आइतबारसम्म गण्डकी प्रदेशमा ८८.९२ प्रतिशत मात्र रोपाइँ भएको छ ।
यसैगरी प्रदेश नम्बर ५ र कर्णाली प्रदेशमा क्रमशः ९४.३९ र ९६.१६ प्रतिशत रोपाइँ सम्पन्न भएको केन्द्रले जनाएको छ । गत वर्ष ती प्रदेशमा क्रमशः ९६.१९ र ९८.३९ प्रतिशत रोपाइँ भएको थियो । सुदूरपश्चिम प्रदेशमा भने गत वर्षकै बराबर अर्थात् १०० प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ ।
पूर्वको तुलनामा पश्चिमी क्षेत्रमा रोपाइँ बढी भएको केन्द्रले जनाएको छ । प्रदेश नम्बर १, २ र ३ मा बढी वर्षा हुने अनुमान गरिए पनि पश्चिमी प्रदेशमा बढी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी भेगमा वर्षा बढेकाले रोपाइँको प्रतिशत बढेको हो । विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले पूर्वी क्षेत्रको तुलनामा पश्चिमी क्षेत्रमा बढी वर्षा भएको बताए ।
गत वर्षको तुलनामा यस वर्ष मनसुन केही ढिला सुरु भएको थियो । नियमित अवस्थामा जुन १० बाट नेपालमा मनसुन भित्रिनुपर्नेमा यस वर्ष झण्डै एक साता ढिला मनसुन प्रणालीको विकास भएको विभागले जनाएको छ ।
‘यस वर्ष भारी वर्षा नभई औसत वर्षा भएको पाइएको छ’, वरिष्ठ मौसमविद् पौडेलले भने, ‘समग्रमा मुलुकभर यस वर्ष एक हजार पाँच सय मिलिमिटर वर्षा भएको छ ।’
कुल १३ लाख ७१ हजार सात सय छ हेक्टर क्षेत्रफलमा रोपाइँ गर्न सकिने भए पनि यस वर्ष १२ लाख ९५ हजार दुई सय ८२ हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भएको केन्द्रले जनाएको छ । सिँचाइ प्रणालीको भरपर्दो व्यवस्था नहुँदा अधिकांश क्षेत्रका किसान आकासे पानीको भर पर्न बाध्य छन् । रासस
प्रकाशित मिति: मंगलबार, भदौ ३, २०७६