न्युयोर्क । विश्व विख्यात फुटबलर लियोनेल मेसीको बारेमा नेपाली पत्रकार किरण मरहठ्ठाले निर्माण गरेको डकुमेन्टी« ‘मेसी, द म्यान एट बार्सा’ को अमेरिकामा प्रिमियर हुने भएको छ । नेपाल अमेरिका फिल्म सोसाइटीको आयोजनामा प्रत्येक बर्ष मे ५ देखि ७ तारिखसम्म बाल्टिमोरमा सञ्चालन हुने, नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा अन्तर्राष्ट्रिय चलचित्र विधामा उक्त डकुमेन्ट्री देखाइने महोत्सवका निर्देशक पूर्णसिंह बराइलीले जानकारी दिए । अंग्रेजी र स्पेनिस भाषामा निर्माण गरिएको उक्त डकुमेन्ट्री ३० मिनेटको रहेको छ । यो डकुमेन्ट्री लियोनेल मेसीलाई केन्द्रमा राखेर बार्सीलोना फुटबल क्लबको सफलताको कथामा निर्माण गरिएको छ । एक नेपाली पत्रकारको अन्तर्राष्ट्रिय क्षमतालाई उजागर गरेको छ, ‘‘मेसी जस्तो ग्लोवल सेलिबे्रटिको बारेमा डकुमेन्ट्री निर्माण हुनु उत्कृष्ट काम हो ।’’ निर्देशक बराइलीले भने । उनले यो डकुमेन्ट्रीले समस्त दर्शकलाइ नयाँ स्वाद दिने दाबी गरे । निर्देशक मरहठ्ठाले डकुमेन्ट्री विश्वविख्यात खेलाडी र बार्सिलोना क्लबलाई नेपालसँग जोड्ने अभियान भएको दाबि गरे । उनले भने ‘‘मैले बार्सीलोना क्लवको भव्यतालाइ देखाउनुको अलावा मेसी र उनको टिमलाई नेपालसँग जोड्ने प्रयत्न गरेको छु, तर यो ज्यादै कठिन र संवेदनशील काम थियो ।’’
एशिया, युरोप र अमेरिकाका २० वटा चलचित्रहरु प्रर्दशन गरिने महोत्सवको उद्घाटन दीपक रौनियार निर्देशित सेतो सूर्यबाट हुनेछ भने समापन मीनबहादुर भाम निर्देशित कालो पोथीबाट हुनेछ । महोत्सवमा विभिन्न मुलुकबाट २७ सयवटा फिल्महरुले सहभागिताका लागि आवेदन दिएका थिए । त्यसमध्ये जुरीले उत्कृष्ट २० वटा फिल्मको छनोट गरेको हो । महोत्सवको पहिलो दिन नेपाली पनोरामा र लुकिगं व्याक एट नेपाली सिनेमा शिर्षकमा ७ वटा नेपाली फिचर तथा डकुमेन्ट्री फिल्म देखाइने छ जसमा, नवीन सुब्बाको नुमाफुङ, छिरिङ रितार शेर्पाको मुकुण्डो, राजन खथेतको शेरधक, सुवर्ण थापाको गरे, गणेश पाण्डेको भाग्यले बाँचेकाहरु, देवकी विष्टको इन सर्च अफ देवकी, सुनगाभा र अमिताभ जोशिको तासि टर्वाइन रहेका छन ।
दोस्रो दिन ९ वटा छोटा अन्तर्राष्ट्रिय सिनेमा देखाइने छ जसमा मेसी द म्यान एट बार्सा, राजेन्द्र ठकुराठीको माइ क्लायर, विभुषण बस्नेतको दध्या, सुसान प्रजापतिको द सेम, स्वान स्मलको एक्रेस अफ डयमन्ड, सुसान गुल्ठीको उर्मीला, एन्डी कुकरमको शेर्पा स्टिउ, जसवन्तदेव श्रेष्ठको मुस्ताङ र दोरिया भरमन्ते र मारर्कुस वाइनफुरटरको रिफुजी अफ साग्रीला रहने छन् । अन्तिम दिन भने ग्लोबल पिस फिल्म साइडबार शर्षिकमा २ वटा सिनेमा देखाइने छ । जसमा फ्रान्कोइस एलरकोनको द डिपोर्टेसन अफ इनोसेन्स र भारतीय निर्देशक मित्रा सेनको अन्डर द सेम सन रहने छन् । युनिभर्सिटी अफ मेरिल्याण्डको होम थिएटरमा ३ दिनसम्म चल्ने चलचित्र महोत्सवमा विभिन्न विधामा उत्कृष्ट चलचित्रलाई पुरस्कृत गरिने छ । महोत्सवमा ‘‘नेपाली डायस्पोरा र चलचित्र’’ विषयक अन्तरक्रिया समेत हुने छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ११, २०७४