ओखलढुंगाका दुईवटा स्थानीय तहले विवाहित छात्राको अध्ययनमा सघाउन छात्रवृत्ति कार्यक्रम ल्याएका छन् । विवाहपछि पढाइ छोड्ने र खर्चका कारण पढाइलाई निरन्तरता दिन नसक्ने छात्रालाई लक्षित गर्दै सुनकोसी र खिजिदेम्बा गाउँपालिकाले ‘बुहारी छात्रवृत्ति कार्यक्रम’ ल्याएका हुन् ।
सुनकोसी गाउँपालिकाले वार्षिक पाँच हजार र खिजिदेम्बा गाउँपालिकाले वार्षिक ६ हजार रुपैयाँको छात्रवृत्ति विवाहित छात्रालाई उपलब्ध गराएका छन् । बालविवाह गरेकाले भने यस्तो छात्रवृत्ति पाउने छैनन् ।
विवाहित महिलालाई माध्यमिक शिक्षा पढ्न प्रतिबुहारी विद्यार्थी वार्षिक पाँच हजार छात्रवृत्ति प्रदान गरिने सुनकोसी गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताए । ‘विवाह गरेपछि पढ्न छाड्ने चलनको अन्त्य गर्दै औपचारिक शिक्षा पूरा गराउने हाम्रो लक्ष्य हो,’ उनले भने, ‘खर्च जुटाउन नसकेर विद्यालय जान नसक्ने बुहारी विद्यार्थीलाई यसले समेट्नेछ । तर, छात्रवृत्ति प्राप्त गर्न वैधानिक विवाह भएको हुनुपर्नेछ ।’
एसइईमा उत्कृष्ट विद्यालयलाई सम्मान
खिजिदेम्बा गाउँपालिकाले एसइईमा उत्कृष्ट विद्यार्थी र विद्यालयलाई सम्मान गरेको छ । शैक्षिक सत्र ०७५ मा एसइईमा उत्कृष्ट नतिजा ल्याउन सफल गाउँपालिकाका तीन विद्यालयलाई पुरस्कृत गरिएको हो । चण्डेश्वरी मावि रगनीले एक लाख, फूलमती मावि खिजिफलाँटेले ७५ हजार र चण्डेश्वरी मावि चण्डेश्वरीले ५० हजार नगद पुरस्कार पाएको गाउँ शिक्षा समितिका सदस्य कमल न्यौपानेले जानकारी दिए । त्यस्तै, आधारभूत कक्षामा उत्कृष्ट नतिजा ल्याउने नर्मदेश्वर मावि चप्लेटीलाई ६० हजार, कुण्डली मावि खिजिकातीलाई ४० हजार र जनज्योति आधारभूत विद्यालयलाई २० हजार नगद प्रदान गरिएको छ ।
खिजिदेम्बाले दियो १५ बुहारी विद्यार्थीलाई छात्रवृत्ति
खिजिदेम्बा गाउँपालिकाले उच्च शिक्षा हासिल गर्न यस वर्ष गाउँपालिकाभित्र अध्ययनरत १५ जनालाई ‘बुहारी छात्रवृत्ति’ दिएको छ । ‘हाम्रो ठाउँमा अझै पनि पुरातनवादी सोचका कारण विवाह गरेपछि पढ्न जानुहुँदैन भन्ने चलन छ । त्यसलाई निरुत्साहित गर्दै बुहारीहरूलाई उच्च शिक्षामा सहयोग गर्न यो कार्यक्रम ल्याएका हौँ,’ गाउँपालिका अध्यक्ष वेदबहादुर रोकाले भने । कक्षा ११ र १२ मा अध्ययनरत १५ विवाहित छात्रालाई वार्षिक ६ हजारका दरले छात्रवृत्ति दिइएको रोकाले बताए । गत वर्ष यस्तो छात्रवृत्ति चारजनाले पाएका थिए । नयाँ पत्रिकामा समाचार प्रकाशित छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ३, २०७६