सुदूरपश्चिमको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व गौराको चहलपहल शुरु भएको छ । गाउँमा गौरा घर लिपपोत शुरु भएको छ । वर्षाले भत्किएका बाटाघाटा मर्मत र सरसफाइमा गाउँलेहरू जुटिसकेका छन् । गौरा विसर्जन गर्ने मठमन्दिरको सरसफाइ पनि शुरु भइसकेको छ । डोटीका हरेक गाउँ र टोलमा गौरा महोत्सवको उल्लास देखिन थालेको छ ।
पुरुषहरूले मठमन्दिर सरसफाइ गरी गौरा भित्र्याउन देवताका चैत, धुमारी र ठाडो खेल शुुरु गरिसकेका छन् । गौरापर्व मनाउनकै लागि थातथलो छोडेर बाहिर गएका पनि धमाधम घर फर्कन थालेका छन् । सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, अछाम, बझाङ, बाजुरा, डोटीका गाउँघरमा अहिले गौरा पर्वको तयारी शुरु भएको डोटीको जोरायल गाउँपालिकाका–४का स्थानीयवासी दिनेशबहादुर मल्लले बताए । उनले भने, गाउँमा गौराको चहलपहल बढेको छ, परदेश गएका घर आउन थालेपछि शहर बजार भन्दा पनि अहिले गाउँ घरको रौनक बढेको छ । सुदूरपश्चिमको प्रमुख सांस्कृतिक पर्व गौरा मनाउन घर फर्किनेका कारण तराईबाट पहाड आउने गाडी प्राय भरिभराउ हुने गरेको ट्राफिक प्रहरी पोष्ट बुडरका ट्राफिक प्रहरी केशव खड्काले बताए । उनले भने, गौरा पर्व मनाउने आउनेका कारण सबैजसो गाडी अहिले भरीभराउ देखिन्छन, दशै तिहारभन्दा पनि बढी गौरापर्व मनाउने भएकाले कामका लागि गएका अहिले फर्किन थालेका छन् । त्यस्तै यहाँका जिल्ला सदरमुकामबाट ग्रामीण क्षेत्रसम्म यातायातका सावरी साधानमा भीड बढेको स्थानीयवासी बताउँछन् ।
दिपायलको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा अहिले गौरापर्वका लागि चाहिने सामान तथा नयाँ लुगा खरीद गर्नेको भीड बढेको दिपायल पिपल्लाका हरिश फेन्सीका व्यापारी नरबहादुर खड्काले बताए । उनले भने, गौरापर्व मनाउन परदेश गएका घर फर्किन थालेका छन्, उनीहरुले बजारमा नयाँ लुगा तथा अन्य सरसामान किन्ने गरेका कारण यहाँका बजारको चहलपहल निकै बढेको छ । नेपाली पात्रोअनुसार यो वर्ष गौरा पर्व यही भदौ ६ गतेपर्ने भएको छ । सुदूरपश्चिम प्रदेशका हरेक जाती, वर्ग र क्षेत्रका बासिन्दाको विभेद्रहित साझा सांस्कृतिक पर्व भएका कारण पनि गौराको उत्साह र रौनक बेग्लै हुने गरेको बुढापाका बताउँछन् । गौरा भित्र्याउने घर आँगनदेखि सामूहिक गौरा घरको सरसफाइसँगै गौरा विर्सजन गर्ने मठ–मन्दिरमा पनि सरसफाइ शुरु भएको गड्सेराका स्थानीयवासी पूर्णबहादुर विष्टले जानकारी दिए । महादेव वर पाउन देवी पार्वतीले गरेको कठिन तपस्या र व्रतको सम्झना गर्दै सुदूरपश्चिममा पौराणिककालदेखि मनाइँदै आएको पर्वका रुपमा गौरालाई लिइन्छ ।
गौरा विसर्जन गरिने मठ मन्दिरमा भाद्र सङ्क्रान्तिका दिन पुरुष जम्मा भएर देवी–देवताको ठाडो (डेउडा) खेल लगाउँदै गौरापर्व शुरु भएको सन्देश दिने गरिन्छ । पञ्चमीका दिन महिलाले सामूहिक रुपमा बिरुडा (५ प्रकारका अन्न मिसाएर बनाइने) स्थानीय जलाशयमा गएर भिजाउने, अर्को दिन परम्परागत कुवाँ र नाउलामा गौरा पुज्ने र अमुक्ताभरण सप्तमीका दिन गौरा भित्र्यिाउने चलन छ । एक साता मनाइने गौरापर्व धार्मिक मात्र नभएर सुदूरपश्चिमको सांस्कृतिक र सामाजिक महत्व बोकेको प्रमुख पर्व भएको डोटी शैलेश्वरी मन्दिरका पूजारी प्रेमशङ्कर भट्टले बताए। उनले भने, गौरा धार्मिक मात्र नभएर सुदूरपश्चिमको सांस्कृतिक र सामाजिक महत्व बोकेको पर्व भएकाले पनि यसको विशेष महत्व छ । सुदूरपश्चिममा भएका पौराणिक सभ्यतामध्ये गौरा सभ्यता सबैभन्दा प्राचीन मानिन्छ । पहाडी जिल्ला डोटी पनि गौरा महोत्सवको भव्य तयारी गरिएको छ । जिल्ला सदरमुकामसँगै गाउँगाउँमा गौरा महोत्सव भइरहेका छन्, कुनै गाउँ, टोल यस्तो बाँकी छैन जहाँ गौरा पुजनसँगै महोत्सवको तयारी नभएको होस् । ‘सुदूरको प्रमुख सांस्कृतिक पर्व भएकाले यसको महत्व पनि त्यत्तिकै ठूलो छ ’, पूजारी भट्टले भने, ‘गौरा केवल पर्व मात्र होइन, यो रामायणकालीन सभ्यताको निरन्तरता हो र सामूहिक उत्तरदायित्व झल्काउने पर्व पनि हो ।’ कुनै जातीय वा वर्गीय विभेद नहुने धार्मिक पर्व गौरा यस क्षेत्रमा सामाजिक एकताको पर्वका रूपमा समेत कायम रहेको छ ।
एकातिर देवीदेउताका चैत, फाग, धुमारी, ठाडो खेल र डेउडा गाएर धार्मिक लोककाव्य जीवन्त राख्ने परम्परा छ भने अर्कोतिर नेपाल एकीकरणका वीरगाथा डेउडाका रूपमा गाएर राष्ट्रिय एकतालाई पनि गौरा पर्वले संरक्षण गरेको हुन्छ । ‘यो धार्मिक तथा सामाजिक महत्वको अद्भूत सांस्कृतिक पर्व हो ’, उनले भने । सामाजिक अनुशासन, धार्मिक अनुशासनसँगै पारिवारिक अनुशासनसँग पनि पर्वको महत्व जोडिएको छ, पुजारी भट्टले भने, रामायणकाल, महाभारतकाल र आधुनिक कालखण्डलाई जोड्ने गौरापर्वले विगतलाई सम्झिने, वर्तमान र भविष्यलाई सुखद बनाउने लक्ष्यअनुरूप मनाउने गरेको पाइन्छ । विशुद्ध धार्मिक पर्वका रूपमा मनाइने गौरा शिव–पार्वतीको परम्परागत पूजासँगै डोटेली संस्कृतिमा देव जागरण पर्वका रूपमा समेत मनाउने गरिएको छ । बल, तील, गुभा, धान र साउँका बोटबाट बनाइने गौरा र शिवका रूपमा काठको प्रतिमा स्थापित गरी एक हप्तासम्म पूजा गर्ने परम्परा रहेको छ ।
अविवाहित कन्याहरूले घर भित्र्यिाउने गौरा विर्सजन गर्दा विवाहित बुहारीले टाउकोमा नचाउँदै धार्मिक गीत गाउँदै स्थानीय मठमन्दिरमा लैजान्छन् । मठमन्दिरमा धामी, पूजारीले गौरालाई विधिवत् विर्सजन गर्ने परम्परा रहेको छ । नेपालको सुदूरपश्चिम मात्र नभइ कर्णाली प्रदेश, भारतको कुमाउ, गडवाल, हिमाञ्चलको केही भूभाग हँुंदै कश्मीरसम्म मनाउने परम्परा रहेको छ । कुमाउ गढवाल र सुदूरपश्चिममा गौरा मनाउने परम्परा एउटै भए पनि हिंमाञ्चल र कश्मीरमा भने भिन्न रहेको पाइन्छ । सुदूरपश्चिममा ठाउँ अनुसार गौरापर्वको अवसरमा स्थानीय तहहरुले डेउडा खेल प्रतियोगितासमेत आयोजना गर्ने गरेका छन् ।
विवाहित महिलाले आफ्नो घाँटीमा गौरादेवीको प्रसादका रुपमा उन र धागोले बनाइएको धागो एक वर्षसम्म बाँध्ने चलन छ । उक्त धागोलाई दुबेधागो भन्ने गरिन्छ । विवाहित महिलाले वर्ष दिनसम्म उक्त धागोको पूजा गरेर मात्रै खाना खाने चलन रहेको दिपायल पिपल्लाकी स्थानीय खिमादवी विष्टले बताए । –––रासस
प्रकाशित मिति: सोमबार, भदौ २, २०७६