काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बनेपा नगरपालिका–११ का सबइन्जिनियर आकाश श्रेष्ठलाई भूकम्प पीडितको किस्ता निकासीका लागि स्थलगत निरीक्षण प्रतिवेदन तयार पार्ने क्रममा सेवाग्राहीसँग घूस लिएको अभियोगमा पक्राउ गरेको छ ।
आयोगका अनुसार भूकम्पले क्षति भएको घर निर्माणका लागि सरकारले प्रदान गरेको राहतको किस्ता निकासीका लागि सेवाग्राहीसँग २५ हजार घूस मागेको उनीमाथि अभियोग छ । आयोगको टोलीले सबइन्जिनियर श्रेष्ठलाई बनेपास्थित दी किचन भान्साघरबाट आइतबार पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
यस्तै आयोगले राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र टेकुका जनस्वास्थ्य अधिकृत रामअवतार गुप्तासमेत दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । बोलपत्रमार्फत स्वास्थ्य सन्देशमूलक विज्ञापन प्रकाशन र प्रसारण गरेबापत एक सेवाग्राहीसँग एक लाख घूस मागेको उनीहरुलाई आरोप लगाइएको छ ।
आयोगका अनुसार गुप्ताले लिएको घूस डा भक्तबहादुर केसीको समेत मिलेमतो रहेको पाइएको छ । आरोपीद्वयलाई जनही एक लाख बराबरको बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गरिएको छ । रासस
प्रकाशित मिति: सोमबार, भदौ २, २०७६