रसुवा । भोटेकोसी नदीमा बाढी आएपछि जिल्ला प्रशासन कार्यालयले नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले भोटेकोसीदेखि त्रिशूली नदी किनारसम्मका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेका हुन् ।
भोटेकोसीको बाढीले टिमुरेस्थित भन्सार कार्यालय नजिक रसुवागढी जलविद्युत् आयोजनाले निर्माण गरेको बेलीब्रिज बगाएको छ । पानीको बहाव बढ्दै गएपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित रसुवागढी भन्सार कार्यालय परिसरमा राखिएका करीब २५० मालवाहक कन्टेनर सुरक्षित स्थानमा लैजान चालक लागिपरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिए ।
सशस्त्र प्रहरी २१ नम्बर गुल्म टिमुरेका प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाका अनुसार भोटेकोसीमा पानीको बहाव अत्यधिक बढेपछि नदी किनार क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २, २०७६