दमाैली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा भानु नगरपालिका–५ बस्ने ३९ वर्षीय सुदीपराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा सोही ठाउँ निवासी ३४ वर्षीय प्रेमा न्यौपाने पौडेल घाइते भएकी छन् ।
सुदीपको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । घाइते प्रेमाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा मृत्यु हुने श्रीमान् हुन् भने घाइते रहेकी निजकी श्रीमती रहेको प्रहरीले जनाएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ६ ख ७५६० नम्बरको ट्रकले राजमार्ग छेउमा रोकिराखेको प्रदेश ३–०१–००१–य नम्बर को कारलाई ठक्कर दिएपछि सोही दिशाबाट आउँदै गरेको ना २० प ३१०९ नम्बरको मोटरसाइकललाई कारले ठक्कर दिएको थियो ।
प्रकाशित मिति: सोमबार, भदौ २, २०७६