सर्प झट्ट सम्झँदा जो कोहीलाई डर लाग्छ । अधिकांश सर्प विषालु हुन्छन् । देख्नेबित्तिकै मानिसहरु मार्न अग्रसर भई हाल्छन् तर चितवन भरतपुरका एक परिवार सर्पसँग रमाउँछन्, खेल्छन्, उद्वार गर्छन् । उनीहरु सर्प संरक्षणमा क्रियाशील छन् ।
भरतपुर महानगरपालिका–१५ जयनगरका अनिरुद्र सापकोटाको परिवार सर्प देख्दा निकै खुशी बन्छन् । सर्पलाई समातेर जङ्गलमा लगेर छाडिदिन्छन् । सापकोटा परिवार सर्पलाई सन्तानसरह माया दिन्छन् ।
गाउँघरमा सर्प देखिँदा उनीहरुलाई बोलाइन्छ । उनीहरु तुरुन्तै पुगेर उद्धारमा जुट्छन् । स्थानीयका घरभित्र, आँगन वरपर देखिएका सर्प समात्न जाने गरेका छन् । “घरमा सर्प पस्यो भन्दै फोन आउँछ”, उनले भने, “सर्पलाई समाउने औजार र बोरा लिएर जान्छु, करीब १० मिनेटमा उद्वारको काम सकिन्छ ।”
एक महिनामै आठ सर्पको उद्वार भएको छ । उनी सर्पलाई बचाउनुपर्ने तर्क राख्छन् । “सर्पलाई उद्वार गर्दा सन्तुष्टि मिलेको छ”, सापकोटाले भने, “सर्प जोगाउन सकिएन भने मानव अस्तित्व पनि समाप्त हुन्छ ।” सर्प लोप भएमा भावी सन्ततिले कथाका रुपमा कल्पना गर्नुपर्ने दिन आउने बताउछन् ।
चितवनमा मात्रै होइन, उनीले छिमेकी जिल्ला नवलपुरसम्म पनि पुगेर उद्धार गर्छन्। बाउन्न वर्षीय अनिरुद्र नेपाली सेनाबाट २०६३ सालमा अवकाश पाए । नेपाली सेनामा हुँदा उनले सर्पको कहिल्यै उद्धार नगरेपनि सर्प संरक्षणमा जुट्नुभएको छोरा सुनिल सापकोटाबाट प्रभावित भएर उनी पनि सर्प संरक्षणमा लागे।
“छोराले सर्प बचाउनुपर्छ भन्यो, “जियोग्राफी, एनिमल प्लानेट जस्त विदेशी टेलिभिजन च्यानलहरु हेर्दा विदेशीले संरक्षण गरेको देखेँ”, उनीले विगत सम्झदै भने, “विदेशीले सर्पलाई चिडियाखानामा पालेको देखेँ । वातावरणलाई यथावत राख्न सर्प बचाउनैपर्ने रहेछ भन्ने थाहा भएपछि यसतर्फ लागेको हुँ ।”
अहिले उनीले सर्प राख्नकै लागि काठको कोठा भएको दराज बनाएका छन् । कम विषालु सर्पलाई दराजमा राखे पनि विषालु सर्पलाई प्लाष्टिकको भाँडामा जम्मा गर्दै आएका छन् । उद्वार गरेर जम्मा भएका सर्पलाई नजिकैको देवनगरको जङ्गलमा लगेर छाड्ने गरेका छन्
प्रकाशित मिति: आइतबार, भदौ १, २०७६