खोटाङ । अटिनअटी मान्छेको भीड । गुन्जिरहेको थियो असारे गीत र ढोल/झ्याम्टाको आवाज । कुहिरोले ढपक्कै ढाकिएको थियो कार्यक्रमस्थल । पानी पर्नै लागेको मौसममा एकैचालमा नृत्य गरिरहेका थिए कलाकार ।
हातमा सिरु वा फूलको पात लिएर रोपाइँको नक्कल गरेको हेर्न सबैको आँखा तानिएको थियो कार्यक्रमस्थलमा । एकै किसिमको पहिरन (हाकुपाटसी)मा सजिएका कलाकारको नृत्यले दर्शकका लागि झनै रौनकता थपिएको थियो ।
बीचबीचमा लाखे तथा लाठी (ठाकठुके) नाच, प्रहसन र सांगीतिक कार्यक्रमले दर्शकलाई भरपुर मनोरञ्जन दिलाएका थिए । पहिलोपटक महिला कलाकारले प्रस्तुत गरेको प्रहसनले अधिकांश दर्शकको भुँडी बटारिएको थियो हँसाइले । नेवार समुदायको महान् चाड लाखेजात्राको अवसर पारेर शनिबार खोटाङको दिक्तेलस्थित माटीकोरे खेलमैदानमा गरिएको कार्यक्रमको दृश्य हो यो । दिक्तेलबजार सामाजिक गुठीमा आबद्ध नेवार समुदायले कार्यक्रमको आयोजना गरेको थियो ।
यसअघिसम्म नेवार समुदायका युवायुवती मात्र सहभागी हुने रोपाइँजात्रामा यस वर्ष गैरनेवार समुदायका युवायुवती पनि स्वतःस्फुर्त रूपमा उल्लासका साथ कार्यक्रममा सहभागी भएका थिए । गैरनेवार युवायुवतीसमेत नेवारी परम्परागत पहिरन हाकुपाटसी तथा दौरासुरुवालमा सजिएका थिए ।
गत साउन १४ गतेबाट सुरु भएको लाखेजात्राको अवसरमा गत शनिबार पाहुना टोली ओखलढुङ्गाका नेवार समुदायको प्रस्तुतिले झनै रौनकता छाएको थियो । महीना दिनसम्म मनाइने लाखेजात्राको अवसरमा जिल्लामा विविध कार्यक्रमको आयोजना गरिएको आयोजक दिक्तेलबजार सामाजिक गुठीका अध्यक्ष राजन सैंजूले बताए ।
गठेमङ्गलको दिनबाट विधिवत रुपमा सुरु भएको लाखेजात्रा कृष्णजन्माष्टमीको भोलिपल्ट औपचारिकरूपमा समापन गर्ने चलन छ । यसबीचमा गाईजात्राको दिन वर्षभरि दिवङ्गत भएका आफन्तलाई श्रद्धाञ्जलि, रोपाइँजात्रा, हिलेजात्रा तथा विभिन्न सांस्कृति प्रस्तुति प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
दिक्तेल बजारमा मनाइने लाखेजात्राको मुख्य आकर्षण भने मुखुण्डोधारी लाखेनाच मानिएको छ । ढोल, झ्याम्टाको तालमा जातीय संस्कृति तथा परम्पराको नक्कल गर्दै मुखुण्डोधारी लाखेनाचसहित सहभागी सबैले नाच्ने र रमाइलो गर्छन् ।
लाखे बन्ने व्यक्तिले केही दिनअघिबाटै शुद्ध खानेकुरा खाएर बस्ने गरेका छन् । लाखेसँगै अघिपछि नाच्ने धतुवारेले दर्शकलाई थप मनोरञ्जन गराउँछ । लाखेजात्रालाई जिल्लाका नेवार समुदायले विशेष महत्वका साथ मनाउने गरेका छन् । लाखेजात्राले सांस्कृतिक, धार्मिक महत्वसँगै नेवार र गैरनेवार समुदायबीच आपसी भाइचारा तथा भातृत्व कायम गरेको गुठीका सचिव नूरकाजी सैंजूले बताए ।
लाखे जात्रामा नेवार समुदायका घरपरिवार तथा आफन्तजन जमघट हुने र दुःखसुख आदानप्रदान गर्ने चलन छ , उनले भने, पछिल्लो समय नेवार समुदाय मात्र नभई आफन्तजन, इष्टमित्र, साथीभाइलगायत भेला भएर मिष्ठान्न भोजन गर्ने तथा आपसमा रमाइलो गर्ने प्रलन बढेकाले झनै लोकप्रिय बन्न पुगेको छ ।
लाखे जात्राको अवसरमा नेवार समुदायको प्रत्येक घरमा पूजाआजा गर्नुका साथै नेवारी परिवार खाने चलन छ । अध्ययन, रोजगारी तथा विभिन्न पेशा÷व्यवसायका क्रममा घरदेखि टाढा बसोबास गर्दै आएका परिवारका सदस्य पनि लाखेजात्राको अवसरमा एक ठाउँ भेला हुने र रमाइलो गर्छन् ।
अन्य चाडभन्दा विशेष तरिकाले मनाइने लाखेजात्रा कृष्णाष्टमीको भोलिपल्ट नदीमा गएर विधिवतरूपमा समापन गर्ने चलन रहिआएको छ । नेवार समुदायको महान् चाड लाखेजात्राले जिल्लामा व्यापार÷व्यवसायलाई समेत सघाउ पुग्ने उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताए ।
लाखेजात्रा हेर्ने बहानामा गाउँगाउँबाट आउने दर्शकले यतिखेर दिक्तेलबजारको चहलपहल निक्कै बाक्लिएको छ । दिक्तेलबजारमा सञ्चालित होटल तथा पसलमा किनमेल गर्नेको सङ्ख्या अन्य समयभन्दा दोब्बर वृद्धि भएको व्यवसायीको भनाइ छ ।
लाखेजात्रा दिक्तेलबजार, बुइपा, ऐसेलुखर्क, खोटाङबजार, चिसापानी, अर्खौले, खार्मी, दोर्पाचिउरीडाँडालगायत नेवार समुदायको घना बस्ती भएको ठाउँमा विशेष कार्यक्रमका साथ मनाउने गरिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा आसपासका नेवार समुदायसमेत आएर लाखेनाच प्रदर्शन गर्ने गरेका छन् ।
प्रकाशित मिति: आइतबार, भदौ १, २०७६