काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा हत्याउने प्रमुख योजनाकार भनी किटिएका शोभाकान्त ढकालले तयार पारेको किर्ते तमसुकलाई तीन न्यायाधीशले ‘सद्दे’ भनी फैसला गरेको भेटिएको छ । यसमा जिल्लाका एक र तत्कालीन पुनरावेदन तहका दुई न्यायाधीश मुछिएका हुन् ।
विभिन्न जिल्लाका न्यायाधीशलाई आफूले चिनेको भनी शोभाकान्तले बोलेको अडियो रेकर्डसमेत सोही मुद्दाको मिसिलबाट कान्तिपुरले प्राप्त गरेको छ । पटक–पटक गरी १६ लाख रुपैयाँ ऋण लिएका ढकालले ऋण तिर्नुपर्ने भान्जीबुहारी शान्ता खनालका नाममा उल्टै साढे २ करोड रुपैयाँको नक्कली तमसुक खडा गरिदिएको भेटिएको थियो । जग्गा किन्ने प्रयोजनका लागि खनालले हस्ताक्षर र औंठाछाप गरेर दिएको खाली कागज मामाससुरा पर्ने शोभाकान्तले दुरुपयोग गरी तमसुक बनाएको भेटिएको हो ।
त्यही कागजलाई तत्कालीन जिल्ला न्यायाधीश नगेन्द्रलाल कर्ण, पुनरावेदन अदालतका न्यायाधीशद्वय शिवनारायण यादव र नारायणप्रसाद श्रेष्ठले ‘सद्दे’ ठहर्याएका हुन् । पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको समितिले आफ्नो
प्रतिवेदनमा ललिता निवासको जग्गा व्यक्तिका नाममा दर्ता गर्ने खेलमा संलग्न भनी रामकुमार सुवेदी र ढकाललाई ‘भूमाफिया’ किटान गरेको थियो । ढकालले पत्नी उमा ढकाल्नीको नामबाट तमसुक गरेका हुन् । यससम्बन्धी कागजात अध्ययन गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतका अनुसार उमाको नाम प्रयोग भए पनि सबै काम शोभाकान्तबाटै भएको छ ।
अदालतमा दिएको जवाफ र अन्य विवरणअनुसार उमाको नामबाट शान्ता र उनका देवर नारायण खनालको नाममा २ करोड ५० लाख रुपैयाँ ऋण दिएको तमसुक बनेको थियो । त्यसबीच शोभाकान्तसँग मिलेर उनैको इसारामा नारायणले दाइ चन्द्रमणि र भाउजू शान्ताविरुद्ध अंशमुद्दा गरेका थिए । त्यो मुद्दा हारेलगत्तै शोभाकान्तले पत्नीका नामबाट शान्ताविरुद्ध लेनदेन मुद्दा अघि बढाएका हुन् ।
अदालतमा पेस भएको लेनदेन मुद्दाको तमसुक लिखत लेख्न नेपाली नभई अन्य कागज प्रयोग गरिएको छ । कपाली तमसुकमा माथिपट्टि हस्ताक्षर हुँदैन तर शोभाकान्तले पेस गरेको लिखतमा त्यस्तो हस्ताक्षर गरिएको छ । तमसुकमा दुईथरीको हस्ताक्षरको मसीसमेत भिन्न खालको छ । ल्याप्चे लगाउँदा दुईथरी स्ट्याम्प प्याड प्रयोग भएको छ ।
मुद्दाका क्रममा पीडित पक्षले भनेको छ, ‘एकैदिन गरिएको भनिएको लिखतमा भिन्नाभिन्नै छापदानी प्रयोग गरियो होला भनेर अनुमानसम्म गर्न सकिँदैन ।’ तमसुक सद्देजस्तो देखाउन एउटा शब्द काटेर त्यही शब्द दोहोर्याएर लेखिएको छ ।
‘अख्तियारी अनि मञ्जुरीनामाका लागि मैले उहाँ (शोभाकान्त ढकाल) लाई विश्वास गरी जग्गा खरिद गर्न पैसा र खरिद गर्ने अधिकारीका लागि मञ्जुरीनामा तयार गर्न ल्याप्चे र लिखत हस्ताक्षरसहितको लिफाहरू पटक–पटक दिएको थिएँ,’ शान्ताले अदालतमा पेस गरेको लिखित जवाफमा भनिएको छ, ‘विपक्षी र हामीबीचको पारिवारिक नाता–सम्बन्धका कारण विपक्षीको पतिले मेरो लिफालाई मेरैविरुद्ध प्रयोग गर्ने गरी यस्तो गैरकानुनी तमसुक तयार गर्लान् भनी सोचेको थिइनँ ।’ कुनै प्रयोजनका लागि हस्ताक्षर र औंठाछाप गरेर दिइने खाली कागजलाई लिफा भनिन्छ । लिफा गरिएको कागजमा तमसुक बनाउनु किर्ते हो । कान्तिपुरमा समाचार छ ।
प्रकाशित मिति: आइतबार, भदौ १, २०७६