काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक समीकरण फेरिएको छ। पार्टी एकीकरण भएको १५ महिनापछि पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावले पार्टीभित्रको समीकरण फेरिएको हो। समीकरण फेरिएसँगै पार्टीभित्रको अन्तसंर्घष र अन्तरविरोधहरू पनि बदलिएका छन्।
पार्टी एकीकरण भएपछि गठन गरिएको नौ सदस्यीय सचिवालयमा अध्यक्ष ओली अल्पमतमा थिए । पार्टीभित्रको सन्तुलन मिलाउनका लागि सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’लाई साथमा लिएका अध्यक्ष ओलीले विभागीय जिम्मेवारी बाँडफाँटमा लिएको रणनीतिले थप बलियो बनाएको छ।
सचिवालयबाट निर्णय गर्नका लागि उनलाई बहुमत पुगेको छ। सचिवालय सदस्य वामदेव गौतमलाई संगठन विभागको प्रमुख बनाउने निर्णयसँगै उपाध्यक्षमा प्रस्ताव गरेपछि नेकपाभित्रको समीकरण यस्तो फेरबदल आएको हो।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली लामो गृहकार्यपछि गौतमलाई आफ्नो पक्षमा ल्याउन सफल भए । गौतमले वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ दिँदा निर्णय प्रक्रियामा ओलीले दबाब झेल्दै आएका थिए । गत निर्वाचनमा पराजित भएपछि गौतम ओलीसँग असन्तुष्ट थिए ।
निर्वाचनमा पराजित भएपछि आफूले संगठन विभागको प्रमुख पाउनुपर्ने गौतमको माग पूरा गर्दै अध्यक्ष ओलीले उपाध्यक्षको समेत प्रस्ताव गरेपछि नेकपाभित्र नयाँ तरङ्ग पैदा भयो।
सचिवालयमा अध्यक्ष ओलीलाई महासचिव विष्णु पौडेल, सचिवालय सदस्यहरू गौतम, ईश्वर पोखरेल र बादलको साथ छ। गौतमले गुट परिवर्तन गरेसँग वरिष्ठ नेता नेपाललाई वरिष्ठ नेता झलनाथ खनाल र नारायणकाजी श्रेष्ठको साथ छ। सचिवालय बैठकमा वरिष्ठताको विवाद चुलिएपछि वरिष्ठ नेता खनालसमेत ओलीलाई साथ दिने पक्षमा देखिएका छन् ।
पार्टी एकीकरणका बेला वरिष्ठताको आधारमा खनाल पहिलो नम्बरमा भए पनि नेपाललाई पहिलो नम्बरको वरिष्ठ नेता बनाइएको थियो। आफ्नो भूमिकालाई न्यूनीकरण गरिएको भन्दै लिखितरूपमा नै सचिवालय बैठकमा खनालले आफू नै वरिष्ठताको पहिलो नम्बरमा हुनुपर्ने प्रस्ताव दर्ता गराएका थिए । पार्टी एकीकरण भएको १५ महिनापछि पुनः खनालको प्रस्तावले प्रवेश पाएको छ।
साथै, सचिवालयको बहुमत संख्याले खनाललाई पहिलो नम्बरको वरिष्ठ नेता बनाउने सम्भावना बलियो बन्दै गएको छ। वरिष्ठ नेता खनालले आफू पहिलो वरिष्ठ नेता हुनेमा कुनै शंका नरहकेको बताए। उनले भने, ‘मिल्दै नमिल्ने निर्णय गरेर हुन्छ, अब बस्ने सचिवालय बैठकले वरिष्ठताको टुंगो लगाउँछ । म पहिलो नम्बरको वरिष्ठ नेता हुनेमा कुनै शंका नै छैन।’
वरिष्ठ नेतामा आफू पहिलो नम्बर हुनुपर्ने अडान नेपालले राखेपछि शनिबार अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच भेटवार्ता भएको छ। नेपालले आफूलाई पहिलो नम्बरकै वरिष्ठ नेता हुनुपर्ने अडान कायमै राखेका छन् । तर अध्यक्ष ओलीले खनाललाई नै पहिलो नम्बरको वरिष्ठ नेता बनाउने आश्वासन दिएको बताइएको छ। समाचारपत्रमा खबर छ ।
प्रकाशित मिति: आइतबार, भदौ १, २०७६