विराटनगर । खोलानदीमा बाढी आउनुअघि नै नागरिकलाई सूचना दिन मोरङको सुन्दरहरैँचा नगरपालिका–१ मा बाढी पूर्वानुमान शाखा वर्षामापक केन्द्र स्थापना गरिएको ६६ वर्ष भयो । तर, साढे ६ दशकको अवधिमा यहाँका नागरिकले एकपटक मात्रै पूर्वसूचना पाएका छन् । जब कि सुन्दरहरैँचा क्षेत्रमै बर्सेनि बाढीले जनधनको क्षति पुर्याउने गरेको छ ।
स्थानीय लोहान्द्रा र सिंगियालगायत खोलामा बाढी बढ्न सक्ने खतरा रहेको सूचना स्थानीयले पहिलोपटक गत ८ साउनमा मात्रै पाए । व्यक्तिका मोबाइलमा सूचना आएको थियो । साढे ६ दशकको अवधिमा यस्तो सूचना कुनै पनि माध्यमबाट त्यसअघि र पछि कहिल्यै नपाएको स्थानीय बताउँछन् । जब कि एसएमस पठाउने व्यवस्था गरिएकै चार वर्ष भइसकेको छ ।
‘हामीलाई त वर्षामापक केन्द्र कहाँ छ भन्ने पनि थाहा थिएन,’ सुन्दरहरैँचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले भने, ‘८ साउनमा म्यासेज आएपछि मात्रै थाहा भयो । तर, त्यसपछि भने पानी परे पनि कुनै सूचना आएको छैन ।’
०१० मा भारतले स्थापना गरेको वर्षामापक केन्द्र ०२४ मा नेपाललाई हस्तान्तरण गरेको थियो । मापक केन्द्रमा ५२ वर्षदेखि उमेरले ६० नाघेका एकजना कर्मचारी कार्यरत छन् । आठ कक्षासम्म अध्ययन गरेका लक्ष्मीकुमार मास्केले ५२ वर्षदेखि पानी नाप्दै आए, विभागमा जानकारी पनि गराए, तर स्थानीयले बाढी आउनुअघि सूचना भने कहिल्यै पाएनन् ।
‘जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान शाखाले मलाई पानी परेको वेला नाप्न भन्छन् । मैले नापेर सूचना पठाउँछु, मेरो काम नै त्यही हो,’ मास्केले भने, ‘तर, त्यसपछि केन्द्रले के गर्छ भन्ने मलाई समेत थाहा थिएन । ८ साउनमा मोबाइलमा सूचना आएपछि पो थाहा भयो ।’ मासिक २० रुपैयाँ तलबबाट काम सुरु गरेको उनको अहिले ६ हजार पुगेको छ । अहिले पानी नाप्ने यन्त्र रेम्फल खिया लागेर बिग्रिने अवस्थामा पुगेकोसमेत मास्केले बताए ।
मौसम विभागका सूचना अधिकृत विक्रम श्रेष्ठ भन्छन्–अब पानी पर्नासाथ जानकारी गराउँछौँ
माथिल्लो क्षेत्रका खोलामा पानी बढेपछि तल्लो क्षेत्रमा जनधनको क्षति हुन नदिन भनेर नै वर्षामापक केन्द्र स्थापना गरिएको हो । तर, सुरुमा हाइड्रोपावर, सडक निर्माण तथा पूर्वाधार निर्माणमा हुन सक्ने क्षति रोक्न मात्रै सम्बन्धित अधिकारीलाई सूचना दिने गरिन्थ्यो । चार वर्षयता सबैलाई एसएमएस पठाउने सिस्टम तयार गरिएको छ । तर, यसबीचमा आवश्यक प्रविधि नहुँदा जनस्तरमा सूचना पठाउन असमर्थ भयौँ । अहिले विभागबाटै पानीको मात्रा नाप्ने यन्त्र जडान गरिएको छ । अब पानी पर्दा घन्टा–घन्टामा मापन गरिन्छ र वेलैमा जानकारी दिइन्छ । नयाँ पत्रिकामा समाचार छ ।
प्रकाशित मिति: आइतबार, भदौ १, २०७६