म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खयरमा चट्याङ लागेर भेडा मर्दा १० लाख रुपैयाँबराबरको क्षति पुगेको छ ।
शुक्रबार राति साढे ११ बजे परेको चट्याङ लागेर खर्कमा बास बसेका ६१ वटा भेडा मर्दा करिब १० लाख मूल्य बराबरको क्षति पुगेको वडा सदस्य राजेश तिलिजा पुनले जानकारी दिए ।
सबैभन्दा धेरै तिलिजाका २६ वटा भेडा मरेका छन् । लालवीर तिलिजा, मीनबहादुर गुरुङ, टिकजित तिलिजा, यामबहादुर पाइजा, डिलप्रसाद शेरपुञ्जा र कमल तिलीजाका भेडा पनि मरेका छन् ।
एउटा भेडाको मूल्य १५ हजारदेखि २५ हजार रुपैयाँ पर्छ । सबै कृषकका भेडालाई गोठालाले एउटै खर्कमा राखेका थिए । घार प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल गएको छ । पाउद्वार गाउँदेखि खयर पुग्न करिब १२ घण्टा उकालो हिँड्नुपर्छ ।
पीडित कृषकले क्षतिपूर्ति र घुम्ती गोठमा पालिने भेडाबाख्राको पनि बीमा सुविधा हुनुपर्ने माग गरेका छन् ।
प्रकाशित मिति: आइतबार, भदौ १, २०७६