हेटौंडा उपमहानगरपालिका १२ मसानघाटमा बस्दै आएको पार्वती सुनार विक परिवारले घर र रोजगारी पाउने भएका छन् ।
मसानघाटमा मलामी बस्न बनाइएको छाप्रोमा बस्दै आएका दलित परिवारका लािग हेटौंडा उपमहानगरपालिकाले दुई कोठे घर निर्माण गरी परिवारका एकजनालाई रोजगारी दिने भएको हो ।
साउन २१ गते परिवारको दुख र समस्याबारे समाचार प्रकाशित भएपछि उनीहरुको दयनीय अवस्थाबारे सरोकारवालाले चासो दिएका हुन् ।
परिवर्तन सामूदायिक बनभित्र बस्दै आएको सो परिवारका लागि उपमहानगरपालिकाले पक्की घर बनाइदिने मेयर हरिबहादुर महतले बताए ।
उनका अनुसार परिवारका एक सदस्यलाई सरसफाइसम्बन्धी रोजगारीसमेत दिइनेछ ।
दुई बर्षदेखि मसानघाटमा बस्दै आएको विक परिवारमा पतिपत्नी, चार बर्षीय छोरा, ११, १० र डेढ बर्षीया गरी तीन छोरी छन् । आजको नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति: शनिबार, साउन ३२, २०७६