कावासोती । पूर्वपश्चिम राजमार्गअन्र्तगत नवलपरासीको मध्यविन्दु नगरपालिकामा पर्ने अरुणखोला पुल मर्मतका लागि पन्ध्र दिन लाग्ने भएको छ ।
बुधबार बिहान पुलमा ट्रक ठोक्किएपछि लच्किएको पुल मर्मतका लागि १५ दिन जति लाग्ने सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर हरिप्रसाद सुवेदीले बताए ।
पुलमा थप क्षति नपुगे काम सुरु गरेको १५ दिनसम्ममा मर्मत सम्पन्न गर्न सकिने इन्जिनियर सुवेदीले बताए । पुलबाट गाडी गुडाउँदा थप क्षति पुगेमा मर्मतका लागिसमेत धेरै समय लाग्ने उनले बताए । पुलमा अहिले ठूला सवारी चलाउन रोक लगाइएको छ । साना गाडीसमेत भारयुक्त गाडी लगेमा पुलमा थप क्षति पुग्ने सक्ने र यसले मर्मतमा समेत समय धेरै लाग्न सक्ने इन्जिनियर सुवेदीले बताए ।
सडक विभागका कर्मचारीको टोलीले अहिले डाइभर्सनलाई मजबुत बनाउन लागि परेका छन् । सामान्य रुपम एकतर्फी रूपमा डाइभर्सनबाट सवारी आवतजावत गर्न सक्ने बुधबार नै बनाए पनि आज दुईतर्फी रूपमा डाइभर्सनबाट सवारी चल्न सक्ने बनाइएको छ ।
इन्जिनियर सुवेदीका अनुसार डाइभर्सनका दुवै छेउमा ढुंगाका जाली भर्ने कामसमेत गरिने छ । शुक्रबारसम्म डाइभर्सन मजबुत बनाउन लाग्ने हुँदा शनिबारबाट पुल मर्मतको काम सुरु गरिने उनले बताए ।
पुल मर्मतका लागि आवश्यक सामग्रीको अभाव नभएकाले समयमै मर्मत हुने इन्जिनियर सुवेदीले बताए । अघिल्ला वर्षमा नवलपुरका लोकाहा, बौलाहा र जयश्री खोलाका पुलमा क्षति पुग्दा लामो समयसम्म मर्मत हुन नसकी डाइभर्सनबाट नै यातायात सञ्चालन गरिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, साउन ३१, २०७६