दमक । झापाको दमकमा तीन महिनाअघि देखापरेको डेंगु रोग अझै नियन्त्रणमा आएको छैन । अहिले दमकका विभिन्न अस्पतालमा डेंगुका बिरामीको संख्या एक य २० नाघेको छ ।
दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालका अनुसार दमक अस्पतालसहित आम्दा, लाइफलाइन, एडभान्स अस्पताललगायतमा डेंगुका बिरामीले उपचार गराइरहेका छन् ।
डेंगुको संक्रमणले महामारीको रुप लिएपछि अहिले बिरामीलाई अस्पतालभित्र झुल टाँगेर राखिएको छ । लामखुट्टेबाट जोगाउन बिरामीलाई झुल टाँगेर उपचार सुरु गरिएको लाइफलाइन अस्पतालमा कार्यरत डा खुश्वु प्रियाले बताइन् ।
उहाँले भनिन्, ‘डेंगुका बिरामीलाई टोकेको लामखुट्टेले अरुलाई नटोकोस् र डेंगु नसरोस् भनेर झुल टाँगेर अपचार शुरु गरेका हौँ ।’ डा प्रियाले दमक आसपासको क्षेत्रमा यो रोगको संक्रमण ज्यादै फैलिएकाले सबैलाई सचेत रहन आग्रह गरिन् । तीन वर्षअघि पनि दमक क्षेत्रमा डेंगु रोग देखापरेको थियो ।
डेंगु रोग फैलिएपछि दमक नगरपालिकाले दमक अस्पतालमा आएका सबै बिरामीको निःशुल्क उपचार गराउँदै आएको छ । निजी अस्पतामा पनि संक्रमितको निःशुल्क उपचारको पहल गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख अर्यालले बताए । उनले भने, ‘डेंगुको संक्रमण भेटिए दमक अस्पताल पठाइदिन आग्रह गरेका छौँ ।’
नगरपालिकाले प्रदेश सरकारसँग डेंगु रोग नियन्त्रणका लागि आवश्यक पहलको माग गरेको छ । अहिले दमक अस्पतालमा २४, एडभान्समा ३४, आम्दामा ३१ र लाइफलाइनमा ३१ डेंगु संक्रमितको उपचार भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ३१, २०७६