रुपन्देही । प्रदेश ५ का नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक भुमिश्वर ढकालको घरमा बिहीबार राति आक्रमणको प्रयास भएको छ । नचिनेका मान्छेको समूहले तीनवटा सिसामा मट्टितेल भरेर प्रहार गरेको बताइएको छ ।
त्यसबाट उनी चढ्ने लु१प ४५६ नंको सरकारी गाडीको पछाडिको भाग जलेर क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक रविनराज मैनालीले जानकारी दिए । राति करीब साढे ३ मोटरसाइलमा आएको अज्ञात समूहले आक्रमण गरेको उनले बताए ।
नेता ढकाल गम्भीर बिरामी भई केही दिनदेखि काठमाडौँस्थित मेडिसिटी अस्पताल भर्ना भएका छन् । सैनामैना–८ रामापुर कलौनीस्थित ढकालको घरमा पत्नी, बुबा–आमा लगायत छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले नेता ढकालको घरमा राति अज्ञात समूहले आक्रमण गरेको जानकारी दिए । अन्य विवरण आउन बाँकी रहेको प्रवक्ता भण्डारीले बताए । रासस
प्रकाशित मिति: शुक्रबार, साउन ३१, २०७६