नापतौल ऐन र कानूनविपरीत काम गरेको आरोपमा हेटौँडा औद्योगिक क्षेत्रमा रहेको एशियन पेन्टस् उद्योगमाथि जिल्ला अदालत हेटौँडामा मुद्दा दायर गरिएको छ । नापतौल ऐन २०२५ को विपरीत काम गरेकाले गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले सो उद्योगमाथि मुद्दा दायर गरेको हो । उद्योगले नापतौल यन्त्रको खरीद गरी सञ्चालन गरेको ३५ दिनभित्र नापतौल कार्यालयबाट इजाजतपत्र लिनुपर्ने प्रावधान रहेको तर, त्यसअनुसार नगरेकाले मुद्दा दायर गरिएको कार्यालयका प्रमुख शशिभुषण यादवले राससलाई जानकारी दिए । सो कार्यालयले एक वर्ष कैद र १० हजार जरिवानासहित मुद्दा दायर गरेको बताएको छ ।
यस्तै सो कार्यालयले बारा, पर्सा, रौतहट र मकवानपुर जिल्लामा सञ्चालित पेट्रोलपम्पहरुको अनुगमन र निरीक्षण गर्दा एक दर्जनभन्दा बढी पम्पहरुमा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दा कैफियत देखिएकाले समेत कारवाही गरेको सो कार्यालय जनाएको छ । पम्पहरुले पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दा तौलमा ठगी गरेको पाइएपछि कारवाही गरिएको प्रमुख यादवको भनाइ छ । रासस
प्रकाशित मिति: बिहीबार, साउन ३०, २०७६