काठमाडौं । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणका लागि अबको एक महिनाभित्र ठेक्का सम्झौता हुने भएको छ । सो सुरुङमार्ग निर्माणको सबभन्दा ठूलो अवरोधको रूपमा रहेको जग्गा अधिग्रहण र मुआब्जाको समस्या हल भएसँगै ठेक्का सम्झौता हुने सुनिश्चित भएको हो ।
धादिङ जिल्लामा परेका जग्गा र सोको मुआब्जाको समस्या हल हुन नसकेका कारण सो सुरुङमार्ग निर्माणका लागि ठेक्का सम्झौतामा ढिलाइ हुँदै आएको थियो । काठमाडौँ जिल्लातर्फको जग्गाको मुआब्जासम्बन्धी समस्याको समाधान यसअघि नै भइसकेको छ ।
सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले जग्गा मुआब्जा वितरणबारे सम्बन्धित जग्गाधनीसँग सहमति भइसकेको जानकारी दिए । सहमति भएसँगै निर्माण ठेक्का सम्झौताको बाटो खुलेको बताउँदै उनले अबको एक महिनाभित्र सम्झौता हुने जानकारी दिए । मुआब्जाको समस्या समाधानसँगै अवरोधको रूपमा अब कुनै पनि ‘इस्यु’ बाँकी नरहेको उनले स्पष्ट पारे । ठेक्का सम्झौता भएको ४२ महिनाभित्र निर्माणको काम सम्पन्न हुने छ ।
प्रमुख थापाले निर्माण कम्पनी छनोट भइसकेको जनाए पनि कम्पनीको नाम बताउन चाहेनन् । छनोट भएका कम्पनीलाई आशयसहितको पत्र पठाइसकिएको जानकारीसमेत उनले दिए । निर्माण सम्झौतापछि कम्पनीले आफ्ना क्याम्प राख्छन् र फिनिसिङको काम गर्छन् तथा तिहारपछि निर्माण कम्पनी फिल्डमा गएर काम सुरु गर्ने छन् , उनले भने, तर सुरुङमार्ग निर्माणको मुख्य काम सुरु हुन अझै छ महिना लाग्ने छ ।
विस्फोटक पदार्थ नहुँदा सुरुङमार्गको निर्माण कार्य सुरु हुनमा केही समय ढिलो हुने सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख थापाले स्ष्पष्ट पारे । उनले भने, टनेल निर्माणका लागि आवश्यक पर्ने जति विस्फोटक पदार्थ नेपाली सेनासँग नरहेकाले निर्माण कम्पनीले विस्फोटक पदार्थ आयात गर्ने प्रक्रियाका कारण निर्माणमा केही ढिलो हुने छ ।
विस्फोटक पदार्थ भारतबाट आयात गर्न‘पर्ने र त्यसको प्रक्रियामा कम्तीमा छ महिना लाग्ने उनले बताए । वास्तविक टनेल निर्माणको काम सुरु गर्न अझै छ महिना लाग्ने भए पनि त्यसभन्दा अगाडि ‘पहुँच बाटो’ निर्माणलगायतका तयारका कामहरू सुरु गरिने उनले बताए । वास्तविक टनेल निर्माणको काम चैतपछि मात्र सुरु हुने उनले स्पष्ट पारे ।
काठमाडौँ जिल्लामा मुआब्जा वितरण कार्य ८० प्रतिशत सम्पन्न भइसकेको जानकारीसमेत महाशाखाका प्रमुख थापाले दिए । विभिन्न कारणले काठमाडौँबाहिर रहेका जग्गाधनी र विभिन्न मुद्दामामिलाका कारण रोक्का गरिएको जग्गाधनीको मात्र मुआब्जा वितरण बाँकी रहेको उनले बताए । उनले भने, काठमाडौँबाहिर रहेका जग्गाधनीको मुआब्जाको रकम जिल्ला प्रशासन कार्यालयमा जम्मा छ, उनीहरू जहिले पनि आएर मुआब्जा लिन सक्ने छन् । काठमाडाैंमा अहिलेसम्म चार अर्ब बीस करोड रुपियाँ मुआब्जा वितरण भइसकेको छ ।
सो सुरुङमार्गअन्तर्गत काठमाडौँतर्फ परेको करिब तीन सय रोपनी जग्गामध्ये अधिकांश व्यक्तिको नाममा नै छ भने धादिङतर्फ परेको १ सय ९ रोपनीमध्ये मात्र ४४ रोपनी जग्गा व्यक्ति तथा ‘श्री ५ को वायु गुठीको’ नाममा रहेको सो सुरुङमार्ग आयोजनाले जनाएको छ । गुठीको नाममा करिब २३ रोपनी जग्गा छ । आयोजनाका अनुसार धादिङमा करिब एक अर्ब रुपियाँ मुआब्जा वितरण गर्नुपर्ने हुन्छ । गाेरखापत्रमा समाचार छ ।
प्रकाशित मिति: बिहीबार, साउन ३०, २०७६