काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिमा अनुशासन समितिको प्रतिवेदनमा छलफल सुरु भएको छ ।
बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय अनुशासन समितिका सभापति भीष्मराज आङदेम्बेले आफ्नो प्रतिवेदन पेस गरेपछि छलफल सुरु भएको हो । कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा अनुशासन समितिको प्रतिवेदनका साथै विभिन्न तहमा हुने उपनिर्वाचनको विषयमा समेत छलफल हुने कार्यसूची छ ।
कांग्रेसले केही दिनअघि अन्तरिम संरचनालाई रुपान्तरण गरी संघीय व्यवस्था बमोजिम विधानको धारा ७२ बमोजिम संरचना बनाउने निर्णय गरिसकेको छ । केन्द्रीय सदस्य प्रदीप पौडेलले दोस्रो चरणको जागरण अभियान सुरु हुनुअघि उपनिर्वाचन र भ्रातृ संगठनहरुको विषयमा केन्द्रीय समितिले निर्णय लिने बताए ।
बैठकमा विधान र अन्तरिम संरचनाबाहेक नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना संयोजन समितिको प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन, राष्ट्रिय जागरण अभियानको प्रथम चरणको प्रतिवेदन प्रस्तुत भइसकेको छ ।
सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा बुधबार महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य भीष्मराज आङ्दम्बे, कमला पन्त र रमेश लेखकले आ–आफ्नो विचार व्यक्त गरे । केन्द्रीय कार्यसमितिको अर्को बैठक आगामी भदौ ११ गते दिउँसो २ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, साउन ३०, २०७६