आवश्यक सावधानी नअपनाउँदा पछिल्लो समय पश्चिम नवलपरासीमा सर्पदंशका बिरामी बढ्न थालेका छन् । जिल्लाका विभिन्न अस्पतालमा अहिले दैनिक सर्पदंशका बिरामी आउने गरेका छन् ।
बढ्दो गर्मी र वर्षात्को मौसमसँगै सर्पको बिगबिगी बढेको तर यसबाट बच्न आवश्यक सुरक्षाका उपाय नअपनाउँदा सर्पको डसाइबाट प्रभावित बढेका चिकित्सकले बताएका छन् । पृथ्वीचन्द्र अस्पताल परासीका प्रबन्धक सुरेन्द्र अधिकारीले गर्मीसँगै वर्षाको मौसम भएकाले प्रत्येक दिनजसो नै सर्पले मानिसलाई टोक्न थालेका बताए ।
यसैगरी बर्दघाटस्थित चिसापानी अस्पतालमा पनि दैनिक तीन/चार जनाका दरले सर्पदंशका बिरामी आउने गरेको उक्त अस्पतालले जनाएको छ । पश्चिम नवलपरासीका अस्पतालमा भेन्टिलेटरको सुविधा नभएकाले प्रारम्भिक उपचारपछि सर्पदंशका बिरामीलाई अन्यत्र रिफर गर्ने गरिएको छ ।
सर्पको डसाइपछि अस्पतालमा आउने बिरामीलाई पहिला परीक्षणमा राखी सर्पदंंशको लक्षण देखिएपछि मात्र एन्टीस्नेक दिएर प्रारम्भिक उपचार गर्ने र त्यसपछि थप उपचारका लागि बुटवल चलान गर्ने गरिएको चिसापानी अस्पतालले जनाएको छ ।
परासी र चिसापानी दुवै अस्पतालमा भेन्टिलेटरको सुविधा नभएकाले बिरामीलाई एन्टीस्नेक भेनम दिएर प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल चलान गर्ने गरिएको छ । समयमै आउने बिरामीको उपचारपछि निको हुने सम्भावना बढी हुने गरेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका चिकित्सक डा मोहम्मद नुरुल होदाले जानकारी दिए ।
उनका अनुसार वर्षाका कारण आएको बाढीले गर्दा जमीनमुनि रहने सर्प मानिसको बस्तीभित्र छिर्ने गर्दछन् । अहिले पनि धेरै सर्पदंशका बिरामी घरेलु उपचार र धामीझाँक्रीको भर पर्ने गरेका उनको भनाइ छ ।
वैशाखदेखि असोजसम्म सर्पको बढी जोखिम हुने गरेकाले आवश्यक सावधानी अपनाउन उनले आग्रह गरे ।
प्रकाशित मिति: बुधबार, साउन २९, २०७६