काठमाडौं: मोरङको उर्लाबारी नगरपालिकामा जनप्रतिनिधिबीचको विवाद उच्च अदालत विराटनगरसम्म पुगेको छ। अदालतमा प्रवेश गरेपछि मेयर खड्ग फागो र उपमेयर लक्ष्मीदेवी भण्डारी पक्षबीचको विवाद अझ चर्किएको छ।
असार २९ गते चौथो नगरसभापछि फागो र भण्डारीबीचको विवाद झन् उग्र बनेको हो। मेयरले आफू निकटका कार्यपालिका सदस्यलाई साथ लिएर निर्णय गर्ने गरेको र चौथो नगरसभामा पेस गरिएको निर्णय पनि एकलौटी गरेको भन्दै उपमेयरसहित उनी पक्षका कार्यपालिका सदस्य अदालत गएका हुन्।
उर्लाबारी नगरपालिकाको कार्यपालिका बैठक असार २८ गते साँझ बसेको थियो। कांग्रेसबाट निर्वाचित फागोसहित छ जना कार्यपालिका सदस्यले एकलौटी निर्णय गरेर चौथो नगरसभामा पेस गरेको उपमेयर भण्डारी पक्षधरको दावी छ।
कार्यपालिकामा कांग्रेसबाट मेयरसहित छ जना र नेकपाबाट उपमेयरसहित १३ जना सदस्य छन्। कार्यपालिका बैठकमा गरिएको एकलौटी निर्णय स्वीकार गर्न नसकिने र सबै कार्यपालिका सदस्यको सहमतिबाट निर्णय हुनुपर्ने भन्दै नगरसभामा नेकपाबाट निर्वाचित जनप्रतिनिधिले विरोध गरेका हुन्।आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति: बुधबार, साउन २९, २०७६