काठमाडौं: तपाईंले बैंक खाता खोलेर लामो समय नचलाई बस्नुभएको त छैन ? त्यसो भए तत्काल नै गएर सक्रिय पार्नुहोस् । ६ महिनासम्म बैंक खातामार्फत कारोबार नगरेमा खाता निष्क्रिय हुने गर्दछ । निष्क्रिय खातामा अन्यत्रबाट पैसा जम्मा गर्न तथा रकमान्तर गर्नसमेत मिल्दैन ।
हाल भूकम्पपीडितको खातामा यस्तै समस्या देखिएको छ । भूकम्पपीडितले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग अनुदान सम्झौता गरेपछि पहिलो किस्ता बैंक खातामा जम्मा हुने गर्छ । तर, लाभग्राहीको बैंक खाता नै निष्क्रिय रहेपछि समस्या देखिएको छ । यस्तो समस्या पहिलो किस्ता लिनेको हकमा मात्र नभएर कतिपयको दोस्रो र तेस्रो किस्ता लिनेमा समेत देखिएको छ ।
प्राधिकरणले अनुदान सम्झौता गरेका तर बैंकमा आफ्नो खाता सुचारु नगरेका लाभग्राहीलाई यथाशीघ्र सम्बन्धित बैंकमा सम्पर्क राखी खाता सुचारु गर्न अनुरोध गरेको छ ।
प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले अनुदान सम्झौता गरेलगत्तै पहिलो किस्ता बैंक खातामा गएको तर खाता सक्रिय नगरेका कारण ठूलो संख्याका लाभग्राहीको पैसा निष्क्रिय भएको बताए ।
प्राधिकरणले आफ्नो बैंक खाता सक्रिय गरी खातामा जम्मा भएको रकम निकालेर निजी आवास पुनर्निर्माण सुरु गर्न लाभग्राहीसँग आग्रह पनि गरेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।
प्रकाशित मिति: बुधबार, साउन २९, २०७६