फिदिम । चौरासी वर्षीय नरबहादुर राई राम्रोसँग देख्न र सुन्न सक्दैनन् । असार १० गते राति उनले अकस्मात जमिन हल्लिएको थाहा पाए । छोरा–बुहारीले राईलाई बाहिर निकालेर घरमाथिको डाँडोमा पु¥याए । राई परिवार डेढ महिनादेखि त्यही डाँडोमा त्रिपालमुनि बस्दै आएको छ ।
बुहारी जसमाया ससुरा नरबहादुर बिरामी परिरहने भएकाले त्रिपालमुनिको दैनिकी कष्टकर भएको बताउँछिन् । ‘जंगलको बीचमा बस्नुपरेको छ । घर फर्किने अवस्था छैन’, उनले भनिन् । चारैतर्फबाट घरलाई पहिरोले घेरेकाले घर फर्किन नसकिने जसमाया बताउँछिन् ।
नरबहादुर पत्थरी र मधुमेहका रोगी छन् । ‘रोगी छु, त्यहीमाथि चिसोमा कष्टकर जीवन बिताउनुपरेको छ’, उनले भने, ‘सरकारले हाम्रो व्यवस्था गरिदेओस् ।’
राई परिवारले जस्तै पाँचथरको याङवरक गाउँपालिका–२ फलैँचाको चिङ्मा र सेपी बस्तीका १७ परिवार अहिले कष्टकर दैनिकी बिताउन बाध्य छन् । उनीहरु पहिरोका कारण विस्थापित भएका हुन् । ती सबै परिवार जंगलको बीचमा त्रिपालमुनि बस्दै आएका छन् । उक्त बस्तीमा जताततै पहिरो गएपछि स्थानीयवासीले घर छाडेका हुन् । विस्थापित चन्द्रबहादुर राई बारी र अलैँची बगान पहिरोले बगाएपछि चिन्तित छन् ।
विस्थापितलाई तत्काल अन्यत्र सार्न सकिने अवस्था नभएको याङवरक गाउँपालिका–२ का वडा सदस्य प्रेमकुमार राई बताउँछन् । ‘अन्यत्र लैजान सकिँदैन, यहाँ झन समस्या आउँछ । हिउँदमा बस्न सकिन्न’, उनले भने ।
यहाँका बालबालिकालाई अध्ययन गर्न पनि समस्या भएको छ । उनीहरु हाल नारायणी माध्यमिक विद्यालय बेतेनीमा पढ्दै छन् । चिङ्मास्थित कृष्ण आधारभूत विद्यालयको खेलमैदान पहिरोले पुरेको छ । बालबालिकालाई विद्यालय पठाउन समस्या हुने गरेको विस्थापित धनमाया राईको भनाइ छ ।
याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले विस्थापितलाई एकीकृत बस्ती निर्माण गरी पुनःस्थापना गर्ने योजना रहेको बताए । वडा नम्बर १ का अध्यक्ष मोहनकुमार ढुंगेलको संयोजकत्वमा तीन सदस्यीय जग्गा खोजी समिति गठन गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २८, २०७६