दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजार निवासी ५३ वर्षीय श्यामबहादुर शाहीको सोमबार घाँटी रेटेर हत्या भएको छ । पहिचान नखुलेको व्यक्ति वा समूहले शाहीको घाँटी रेटेर हत्या गरेको हो ।
शाहीको शव बन्दीपुर गाउँपालिका–४ स्थित ढुल्ढुङ्गाको झाडीमा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए । डुम्रेबजारमा किराना पसल सञ्चालन गर्दै आएका शाही आइतबार रातिदेखि बेपत्ता थिए । शाहीकाे खोजीका लागि परिवारले प्रहरीमा अनुरोध गरेको थियो । प्रहरी उपरीक्षक सिलवालका अनुसार मृतक शाहीको घाँटीमा धारिलो हतियारको चोट छ ।
सोमबार माछा मार्न जाने क्रममा स्थानीयवासीले शाहीको शव देखेपछि प्रहरीमा खबर गरेका थिए । शव परीक्षणका लागि दमौली अस्पतालमा पठाइएको र घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले सोमबार राति नै पोखराबाट तालिमप्राप्त कुकुर मगाएको छ । आर्थिक प्रलोभनका कारण शाहीको हत्या भएको हुनसक्ने अनुमान गरिएको छ ।
घटनाको अनुसन्धानका लागि कुकुरको सहयोगमा काम सुरु गरिसकेका छौँ , प्रहरी उपरीक्षक सिलवालले भने, शङ्का लागेका केही व्यक्तिमाथि पनि निगरानी बढाएका छाँै । हत्यामा संलग्न जोसुकै भए पनि चाँडै कानुनको दायरामा आउने प्रहरी उपरीक्षक सिलवालले बताए ।
शाही सुनको सौखिन भएको र शरीरमा थुप्रै सुन लगाएर हिँड्ने भएका कारण प्रलोभनले गर्दा शाहीको हत्या भएको हुनसक्ने स्थानीयवासी बताउँछन् । चार/पाँच तोला सुन र ४०/५० हजार रुपैयाँ उहाँसँग सधैँ हुन्थ्यो”, एक स्थानीयले भने, त्यही प्रलोभनका कारण उहाँको हत्या भएको हुनसक्छ ।
प्रकाशित मिति: मंगलबार, साउन २८, २०७६