धरान । काेसीटप्पु वन्यजन्तु आरक्ष चरण क्षेत्रमा एन्थ्रेक्सको जीवाणु फेला परेपछि काेसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रको बस्तीमा पालिएका घरपालुवा चौपायामा पशु सेवा विज्ञ केन्द्र सुनसरीले भ्याक्सिन लगाउने भएको छ ।
सङ्क्रमण फैलन नदिन रोगका कारण पशु मरेको क्षेत्र आसपासको तीन किलोमिटर परिधिमा चुन छिटिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले जानकारी दिए ।
डा मनोजकुमार महतोले घरपालुवा पशुलाई भ्याक्सिन लगाउने तयारी भएको बताए । आवश्यक भ्याक्सिन पूर्वमा नभएकाले काठमाडौँबाट मगाइएको छ । आउनासाथ टोली परिचान गरिने उनले बताए ।
केही दिनअघि टप्पुको चरण क्षेत्रमा ४४ चौपाया एक्कासि मरेका थिए । पशु रोग अन्वेषण प्रयोगशाला विराटनगरमा उक्त मरेका चौपायको नमूना रगत परीक्षण गर्दा एन्थ्रेक्स जीवाणु भेटिएको डा महतोले बताए । सोही रिर्पोटका आधारमा उक्त क्षेत्रमा सचेतना अपनाइएको छ । रोगका विषयमा स्थानीयस्तर र मध्यवर्ती क्षेत्रका बासिन्दालाई सचेत र सावधानी अपनाउन भनिएको छ ।
यसरी सर्छ एन्थ्रेक्स
डा महतोका अनुसार एन्थ्रेक्स आनुवंशिक रोग भएकाले पशुबाट पशु र मानिसमा समेत सर्न सक्छ । रोग लागेको मानिसको बेलैमा उपचार नभए रोगले ज्यानै लिनसक्ने भएकाले उच्च सावधानी अपनाउनुपर्ने हुन्छ । यो माटो, हावा र पानीबाट सहजै सर्ने रोग हो । एन्थ्रेक्सको जीवाणु माटोमा १० देखि २० वर्षसम्म बाँच्न सक्ने भएकाले समेत जङ्गली जनावरमा रोगको उच्च जोखिम हुन्छ ।
मानवमा भने मरेका जनावरको सिनो छुँदा, श्वास लिँदा, घाउखटिरा भएकाहरूमा हावा र पानीको माध्यमबाट र सङ्क्रमित क्षेत्रको सागपात तथा फलफूल राम्ररी नपखाली खाँदा एन्थ्रेक्सको जीवाणु सहजै मानव शरीरमा पुग्ने डा मेहताले बताए ।
प्रकाशित मिति: मंगलबार, साउन २८, २०७६