नेपाली कथानक चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को शिर्ष गीत इन्टरनेट आज रिलिज भएको छ । उक्त चलचित्र असोज ३ मा रिलिज हुने मिति तय भएकाे छ ।
र्याप शैलीमा तयार पारिएको गीतमा गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटा र अनुपम शर्मा फिचर्ड छन् । गीतलाई पनि दुबैले मिलेर लेखेका हुन् । गीतका निर्देशक विजु कर्मचार्य हुन् । भने, कन्सेप्ट काली स्वयंको हो ।
गीतको कन्सेप्ट नयाँ र फरक छ । सम्भवतः नेपाली फिल्ममा पहिलो पटक यस प्रकारको प्रयोग गरिएको हो । यो गीतले फिल्मको हाइप निर्माणमा ठूलो भूमिका खेल्नेमा निर्माण पक्षको विश्वास छ ।
रामबाबु गुरुङ निर्देशित ‘कबड्डी कबड्डी कबड्डी’ ले स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा वाचन गरेको छ । यसको कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् । शैलेन्द्र डि. कार्कीले खिचेको यो फिल्म बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको हो ।
दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी र विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, पुस्कर गुरुङ, कविता आले, लुनिभा तुलाधर, कमलमणी नेपाल, अरुणा कार्कीलगायतका कलाकारहरुको यसमा अभिनय छ ।
प्रकाशित मिति: सोमबार, साउन २७, २०७६