साउन महिनाको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा बोल बम यात्रीसहित भक्तजनको भीड लागेको छ ।
साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले प्रत्येक वर्ष यस समयमा भक्तजनको घुइँचो हुने गरेको छ ।
साउनको अन्तिम सोमबार भएकाले पशुपतिनाथ मन्दिरमा तीजको जस्तै भीड लागेको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी गराए ।
पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खोलिएको थियो । बिहान ११ बजेसम्म अढाई लाखभन्दा बढी भक्तजनले दर्शन गरिसकेको उनले बताए ।
मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चार स्थानबाट प्रवेश गर्ने व्यवस्था गरिएको छ । गुह्येश्वरीबाट उमाकुण्ड रुद्रगाडेश्वर हुँदै, मित्रपार्कबाट दक्षिणामूर्ति शङ्कराचार्य मठ पश्चिम मूल ढोका हुँदै, जयवागेश्वरीबाट भुवनेश्वरी दक्षिण मूल ढोका हुँदै र पिङ्गलास्थानबाट चार शिवालय हुँदै दक्षिण मूल ढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको हो ।
साउनको सोमबार भगवान् शिवलाई जल चढाए मनोकांक्षा पूरा हुने धार्मिक विश्वास अनुसार पसुपतिमा बिहानैदेखि भक्तजनकाे भीड लागेकाे हाे ।
प्रकाशित मिति: सोमबार, साउन २७, २०७६