डाेटी । तीन लाख २६ हजार रुपैयाँ नगदसहित डोटीको बिपीनगरमा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
काम गरिदिएबापत वन उपभोक्ता समितिका व्यक्तिबाट घूस रकम लिएको उजुरीका आधारमा निजलाई आयोग कञ्चनपुरको टोलीले आइतबार साँझ डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भाँतकाँडाबाट पक्राउ गरेको हो ।
अख्तियार टोलीले सहायक वन अधिकृत डिसीबाट रकम बरामद गरे पनि उक्त रकम घूसको रकम नभई आफ्नो निजी रकम भएको डिसीका साथमा रहेका जोरायल गाउँपालिका–१ का वडाध्यक्ष भजनसिंह मल्लका छोरा किरण मल्लले दाबी गरेका छन् ।
उनले भने, यो पैसा मेरो हो । सहायक वन अधिकृत डिसीजीलाई फसाउन कसैले आरोप लगाएको हो । म जहाँ गएर पनि भन्न सक्छु रकम मेरो हो ।
यद्यपि मल्लले कुन काम विशेष र केका लागि त्यो रकम बोकेका हुन् त्यो भने खुलाएका छैनन् । मल्ल निर्माण व्यवसायी पनि हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुरका सूचना अधिकारी टोपबहादुर विष्टले सहायक वन अधिकृत डिसी घूससहित पक्राउ परेको पुष्टि गरे ।
उता डिभिजन वन कार्यालय डोटीका प्रमुख शम्भुप्रशाद तिवारीले सहायक वन अधिकृत डिसी यही साउन २२ गते कञ्चनपुरका लागि रमाना लिएर गएकाले यो विषयमा आफूलाई कुनै जानकारी नभएको जानकारी दिए । रासस
प्रकाशित मिति: सोमबार, साउन २७, २०७६