काठमाडौं । कल बाइपासमा अदालतले तोकेको कैद भुक्तानी गरेका व्यक्ति पुनः सोही गैरकानुनी कार्यमा संलग्न भएको पाइएको छ ।
चितवनको भरतपुर महानगरपालिका–१८ घर भई काठमाडौंको बालुवाटार बस्दै आएका ३६ वर्षीय नसिव तामाङ पक्राउ परेपछि उक्त रहस्य खुलेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी उपरीक्षक दीपक रेग्मीका अनुसार तामाङ कल बाइपास गरेको अरोपमा वि.सं. २०७२ मा समेत पक्राउ परेका थिए । अदालतले उनलाई एक वर्षको कैद सजाय सुनाएको थियो । तोकिएको सजाय भुक्तान गरी उनी पुनः सोही गैरकानुनी धन्दामा लागेको फेला परेको हो । गैरकानुनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास सञ्चालन गरिरहेको भन्ने सूचना प्राप्त भएपछि खोजी गर्ने क्रममा काठमाडौं महानगरपालिका–४ टुसालबाट तामाङलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ ।
तामाङको साथबाट कल बाइपासमा प्रयोग गरिने विभिन्न उपकरण बरामद गरिएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए । दूरसञ्चार ऐन, २०५३ अन्तर्गत जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद लिई अनुसन्धान थालिएको सिआइबीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले अहिलेसम्म यसरी कल बाइपास गर्ने एक सय १० नेपाली तथा ६७ विदेशी नागरिकलाई पक्राउ गरी मुद्दा चलाउनुका साथै उनीहरूसँग १२ अर्ब रुपयाँ बिगो मागदाबीसमेत गरेको छ ।
प्रकाशित मिति: सोमबार, साउन २७, २०७६