काठमाडौं । आज मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । यस दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा अंकमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ ।
यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेन नमाज पाठसहितको ध्यान सकेपछि साथीभाइबीच शुभकामना साटासाट गरी घरमा गएपछि कुर्वान (बलि) दिने विधान रहेको बताउँछन् ।
‘बलि दिएको खसीको मासुलाई तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने र एक भाग गरिब एवं दीनदुःखीलाई बाँड्ने मुस्लिम धार्मिक विधान छ’, उनले भने । घण्टाघरस्थित नेपाली जामे मस्जिदमा सोमबार बिहान ८ बजे नै नमाज पढ्ने कार्यक्रम छ ।
हिजरी संवत् अनुसार १४३५ वर्षपहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको राष्ट्रिय मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिए । ‘अल्लाहको आदेश इब्राहिमलाई तेरो नजिकको प्यारो चीज कुर्वान (बलिदान) दे भन्ने थियो, जसअनुसार इस्माएल अलेह सलामलाई बलिदान दिन तयार हुँदा अल्लाह आफैँ आएर परीक्षामा उत्तीर्ण भइस्, यो भेडालाई बलिदान गर् भनी आदेश दिए । यही घटनाका आधारमा यो पर्व मनाउन सुरु भएको हो’, पर्वको ऐतिहासिक पृष्ठभूमि बताउँदै उनले भने ।
राष्ट्रपतिद्वारा शुभकामना
राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको साझा सांस्कृतिक धरोहरका रूपमा रहेका असल परम्पराको संरक्षण तथा सम्बद्र्धनले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प हासिल गर्न मद्दत पुग्ने बताएकी छिन् ।
इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इद (इदुल जोहा) का अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले असल पर्व र परम्पराको संरक्षण तथा संवद्र्धनले पर्यटन प्रबद्र्धनमा सघाउ पुग्ने विश्वास व्यक्त गरिन् । ‘यस पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व अभिवृद्धि गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिएको छु’, शुभकामना सन्देशमा उल्लेख छ ।
उपराष्ट्रपतिद्वारा शुभकामना
उपराष्ट्रपति नन्दबहादुर पुनले विभिन्न चाडपर्वले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी मित्रतालाई सुदृढ पार्ने विश्वास व्यक्त गरेका छन् ।
बकर इदको शुभकामना सन्देश जारी गर्दै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त रहेको र विभिन्न समुदायका चाडबाड, रीतिरिवाज र धर्मसंस्कृतिले आपसी सहिष्णुता तथा राष्ट्रिय एकतालाई बलियो बनाएको उल्लेख गरे । ‘नेपालका सम्पूर्ण इस्लाम धर्मावलम्बीहरू र स्वदेश तथा विदेशमा रहनुभएका नेपालीमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछु’, सन्देशमा भनिएको छ ।
प्रधानमन्त्रीद्वारा शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मुस्लिम समुदायको महत्वपूर्ण चाड बकर इदको अवसरमा शुभकामना व्यक्त गेका छन । आज एक शुभकामना सन्देश जारी गरी उनले मुस्लिम समुदायमा शुभकामना व्यक्त गरेका हुन् ।
‘यस अवसरमा हरेक वर्ष लाखौँ इस्लाम धर्मावलम्बीहरूले हज गर्ने गर्दछन् । यो वर्ष हज गर्न साउदी अरबको मक्का–मदिनामा गएका पन्ध्र सय नेपाली हाजीहरूलाई समेत हज मुबारक भन्न चाहन्छु’, प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ ।
सभामुख कृष्णबहादुर महराले पनि शुभकामना सन्देश जारी गर्दै त्याग, समर्पण र बलिदानको पर्यायका रूपमा मनाइने बकर इद पर्वले समस्त नेपालीमा आपसी सद्भाव, भ्रातृत्व, त्याग, सेवा एवं सम्मानको भावना पैदा गर्ने विश्वास लिएको बताएका छन् । ‘हाम्रोजस्तो बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक, बहुजातीय तथा भौगोलिक विविधतायुक्त देशमा राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आपसी मेलमिलाप र सद्भावका साथ मिलेर बस्न सबै धर्मका यस्तै सामाजिक दर्शन र चिन्तनले प्रेरणा प्रदान गर्दछ’, सन्देशमा उल्लेख छ ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि बकर इदको शुभकामना दिएका छन् । सन्देशमा उनले बहुभाषिक, बहुसांस्कृतिक देशका रूपमा परिचित नेपाल सबै समुदाय र धर्मको सम्मानमा विश्वास गर्ने तथा विविधताभित्र एकता नै नेपाल र नेपालीको पहिचान र विशेषता हुने उल्लेख गरेका छन् ।
त्यसैगरी नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि बकर इदको अवसरमा स्वदेश तथा विदेशमा रहेका मुस्लिम समुदायमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् । ‘लोकतन्त्रको स्थापना र पुनस्र्थापनाका लागि विगतमा भएका हरेक लोकतान्त्रिक आन्दोलनमा इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूको महत्वपूर्ण योगदान रहँदै आएको छ । लोकतन्त्रको रक्षार्थ मुस्लिम दिदीबहिनी तथा दाजुभाइ अझ बढी जिम्मेवार रहनु हुनेछ भन्ने मैले विश्वास लिएको छु’, उनको शुभकामना सन्देशमा उल्लेख छ ।
यसैगरी ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जातजाति र समुदायको उत्थान र विकासका लागि ढोका खोलेको बताएका छन् । बकर इदको अवसरमा दिएको शुभकामना सन्देशमा विभिन्न जाति र समुदायका पर्व र उत्सवले हाम्रो मुलुक रंगिएको र कुनै जाति विशेषले मनाउने पर्व र उत्सव सबैका साझा पर्व बन्दै जानु विविधतायुक्त समाजका लागि सुखद विषय भएको बताएका छन् ।
प्रकाशित मिति: सोमबार, साउन २७, २०७६