काठमाडाैं । ३० वैशाखमा सुनसरीको धरानमा देखिएको डेंगु अझै नियन्त्रणबाहिर छ । बरु झन्डै तीन महिनाको अवधिमा धरानबाट मोरङको विराटनगर, झापा हुँदै ४३ जिल्लामा फैलिएको छ ।
सरकारको पटक–पटकको प्रयास असफल हुँदा डेंगु नियन्त्रणबाहिर रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनायो । तराईका सप्तरी, सिरहादेखि, राजधानी काठमाडौं र पहाडी जिल्ला अछाम, दार्चुलासम्म डेंगुका बिरामी भेटिएका छन् । महाशाखाका अनुसार ४३ जिल्लामा तीन हजार चार सय १३ डेंगुका बिरामी भेटिए पनि हालसम्म ज्यान भने कसैको गएको छैन ।
‘नेपालमा डेंगुले नयाँ रूप लिएको हुन सक्छ,’ सरुवारोग विज्ञ डा. शेरबहादुर पुनले भने, ‘अब सरकारले मात्रै नियन्त्रण गर्न सक्दैन, जनता आफैँ सचेत हुनुको विकल्प छैन ।’
तीन महिनाको अवधिमा डेंगु नियन्त्रण गर्न सरकारले मार्ने औषधि प्रयोग गर्यो, तर औषधिले पनि डेंगु मासिएन । ‘गत वर्ष डेंगु नियन्त्रण गर्न सरकारले दुई हजार डेंगु टेस्टकिट प्रयोग गरेको थियो । तर, यसपालि तीन महिनामा सरकारले तीन हजार डेंगु टेस्टकिट प्रयोग गरेको छ । अब सरकारसँग पाँच हजार किट बाँकी छ । डेंगु नियन्त्रणमा आएको छैन,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक घनश्याम पोखरेलले भने ।
औषधिलाई समेत जितेपछि डेंगुले रूप परिवर्तन गरेको हुनसक्ने अनुमान चिकित्सा क्षेत्रका विज्ञहरूको छन् । बर्खा सकिएपछि देखिने डेंगु यस वर्ष बर्खा सुरु हुनुअघि नै देखियो । विगतमा डेंगु देखिएपनि एक महिनाभित्र हराउने गरेकोमा यसपाली तीन महिना पुग्दा झन् फैलिंदै छ । ‘कम होला भन्दा अन्य जिल्लाहरूमा फैलिरहेको छ । डेंगुले सरकार र चिकित्सकलाई चुनौती दिएको छ,’ डा. पुनले भने । नयाँ पत्रिकामा समाचार छ ।
प्रकाशित मिति: आइतबार, साउन २६, २०७६