बर्दिया - राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन आयोजनाले सुरुङ परीक्षण गरी माघसम्म ३६ हजार हेक्टर खेतमा सिँचाइ सुविधा पु¥याउन राखेको प्रस्ताव अघि बढाउन सिँचाइ विभागले आलटाल गर्दा काममा अवरोध सिर्जना भएको छ।
भेरी–बबई समयभन्दा छिटो सुरुङ निर्माण गरेका कारण प्रशंसा बटुलेको आयोजना हो। २०७२ जेठ २१ गते सुरुङ खन्न सुरु गरेको निर्माण कम्पनीको म्याद २०७६ चैत १५ सम्म छ। तर, सुरुङ गत वैशाख ३ गते उद्घाटन भइसकेको छ। सुरुङ १० अर्ब ५७ करोडको लागतमा निर्माण सम्पन्न भएको हो।
आयोजनाले आगामी माघसम्म लिफ्टिङ र पम्पिङ प्रविधिमार्फत भेरीबाट ८ देखि १० क्युमेक्स पानी निकालेर बबईमा खसाली सो नहरमार्फत ३६ हजार हेक्टर खेतमा सिँचाइ पु¥याउने लक्ष्य राखेको छ। यसका लागि २० करोड रुपैयाँ लाग्ने अनुमान छ। माघसम्म भेरीको पानी बबईमा मिसाए बनेको नहरमार्फत ३६ हजार हेक्टर खेतमा सिँचाइ सुविधा पु¥याउँदा किसानले वार्षिक १० करोडसम्म आम्दानी लिन सक्ने भएकाले तत्काल सोहीअनुसार गर्न आयोजनाले स्वीकृतिका लागि विभागमा प्रस्ताव गरेको हो।
सम्झौताअनुसार आयोजनाको पूरा काम सम्पन्न गर्न अझै चार वर्ष लाग्छ। त्यस अवधिसम्म भेरीको १० क्युमेक्सजति पानी बबईमा खसालेर नहरमार्फत सिँचाइ सुविधा उपलब्ध गराउने आयोजनाको लक्ष्यमा विभाग तगारो बनेको हो।
बहुउद्देश्यीय यो आयोजनाअन्तर्गत भेरीको ४० क्युमेक्स पानी बबईमा खसालेर बाँके र बर्दियाको ५१ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पु¥याउने तथा ४७ दशमलब ८ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य छ। त्यसका लागि चिप्लेमा १ सय १४ मिटरको बाँध र हात्तीखालमा पावर हाउस निर्माण गर्न चार वर्ष लाग्नेछ। त्यतिन्जेलसम्म भएको नहरमार्फत ३६ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा उपलब्ध गराएर किसानलाई व्यावसायिक खेतीतर्फ अभ्यस्त गराउन सकिने आयोजनाको भनाइ छ।
आयोजना स्रोत अनुसार सुरुङ निर्माणकर्ता कोभेक कम्पनीलाई २० करोड रुपैयाँ लागतमा लिफ्टिङ र पम्पिङ प्रविधि जडान गर्न दिने, सुरुङबाट पानी खसाल्दा त्रुटि भेटिए निर्माण कम्पनीले मर्मत गर्ने, वार्षिक आम्दानी १० करोड रुपैयाँ बढ्दा किसान खेती गर्न उत्साहित हुने, सुरुङको सफल परीक्षण हुने र चार वर्षसम्म किसान व्यावसायिक खेती गर्न सक्षम हुने भन्दै उक्त प्रस्ताव अघि बढाइएको हो।
विभागले आयोजनाको सुरुङको परीक्षण र खेतमा सिँचाइ सुविधा पु¥याउने प्रस्तावलाई भेरिएसन (मूल्याँकन) गरेर अघि नबढाउँदा तत्कालै गर्नुपर्ने भेरी–बबई डाइभर्सनको सुरुङ परीक्षण र ८ देखि १० क्युमेक्स पानी बबईमा खसाल्ने योजना चार वर्ष पछि सरेको छ। नागरिक दैनिकमा छापिएकाे छ ।
प्रकाशित मिति: आइतबार, साउन २६, २०७६