काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा मुछिएका मुख्य योजनाकार शोभाकान्त ढकाल र रामकुमार सुवेदीसँग बयान लिए पनि आरोपित अन्य धेरैसँग बयान लिन ढिलाइ गरेको छ । स्रोतका अनुसार ढकाल र सुवेदीसहित अख्तियारले गत साता १५ जनासँग मात्रै बयान लिएको छ ।
यो प्रकरणमा अख्तियारको बयान प्रक्रिया सुस्त देखिएको हो । अख्तियारले ललिता निवास प्रकरणमा मुछिएका ८६ जना बढीलाई सार्वजनिक सूचना नै जारी गरी बयानका लागि बोलाएको थियो । बयान लिन थालेको तीन साता बितिसक्दा समेत न्यून संख्यामा मात्रै बयान लिइएको अख्तियार स्रोतले जानकारी दिएको छ ।
पूर्वमन्त्रीसँग बयान
अख्तियारले पूर्वमन्त्रीहरू छविराज पन्त र डम्बर श्रेष्ठसँग पनि बयान लिएको स्रोतले जानकारी दियो । ‘पूर्वमन्त्रीहरू बयान दिनका लागि गत साता बिहानै आएका थिए,’ स्र्रोतले भन्यो, ‘करिब तीन घण्टा अख्तियारमा बयान दिएर बाहिरिए ।’ चुनावताका बनेको सरकारका मन्त्रीहरूसँग बयान लिइए पनि त्यसअघि राजनीतिक नेतृत्वका रूपमा रहेका मन्त्रीहरूसँग भने अख्तियारले बयान लिन आलटाल गरेको स्रोतले बताएको छ ।
केही दिनदेखि अख्तियारमा नक्कली जग्गाधनी बयानमा आउने क्रम भने बढेको अख्तियारको दाबी छ ।
ललिता निवास क्याम्पभित्र पर्ने बालुवाटारको २ सय ९९ रोपनी सरकारी जग्गा मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीको मिलेमतोमा व्यक्तिको नाममा कायम गरेको भेटिएपछि जग्गाधनीसँग पनि बयान लिन सुरु गरिएको छ । अख्तियारले एक महिनाअघि नक्कली मोही खडा भएकाहरूको नाममा सूचना प्रकाशन गरेपछि धमाधम बयानमा जाने क्रम सुरु भएको छ । सरकारले जग्गाधनीलाई मुआब्जा दिई अधिकरण गरिसकेको जग्गा पुनः मालपोत कार्यालयले अनधिकृत व्यक्तिहरूलाई जग्गाधनी र मोही कायम गरी भ्रष्टाचार गरेको पाइएपछि अनुसन्धान थालेको हो ।
बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा पुगेको उजुरीपछि सरकारले पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । सो समितिले ढकाल र सुवेदीलाई भूमाफिया भन्दै उनीहरूमाथि थप अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)लाई दिनुपर्ने सिफारिस गरेको थियो ।
बालुवाटार वरपर काठमाडौं महानगरपालिका–४ बालुवाटारस्थित ललिता निवास क्याम्पको सरकारले अधिग्रहण गरी आफ्नो नाममा पारेको २८४ रोपनी जग्गामध्ये ११३ रोपनी जग्गा नक्कली मोही खडा गरेर भूमाफियाले व्यक्तिको नाममा ल्याउँदा सरकारी कर्मचारीकै योजनाबद्ध रूपमा संलग्नता थियो ।
२०६२ सालमा छानबिन समितिले भूमाफिया किटान गरेका डा. शोभाकान्त ढकाल र रामकुमार सुवेदीलगायतले सो जग्गा सस्तोमा किनेका थिए । पछि मन्त्रिपरिषद्, मुख्य सचिव, सचिव, मालपोत कर्मचारीलगायतलाई प्रभावमा पारी भूमाफिया र व्यापारीले बालुवाटारको जग्गा प्लटिङ गरेर आधा दर्जन व्यापारिक घराना, गैरआवासीय नेपाली संघ (एनआरएनए)लगायत पहुँच र प्रभाववालालाई बेचेका थिए । नेकपाका महासचिव विष्णु पौडेलका छोरा नवीनले पनि सो जग्गा किनेका थिए । राजधानीमा समाचार छ ।
प्रकाशित मिति: आइतबार, साउन २६, २०७६