काठमाडाैं । घट्दो भूमिगत पानीको सतह र पानीको समस्या कम गर्न काठमाडौं महानगरपालिकाले ‘रिचार्ज काठमाडौं’ अभियान सुरु गर्ने भएको छ । महानगरको वातावरण व्यवस्थापन विभागले अभियान सुरु गर्न सरोकारवाला निकायसँग छलफल थालेको छ ।
चालू आर्थिक वर्षबाटै अभियान सुरु गरिने विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । ‘चालू आर्थिक वर्षमा करिब एक करोड बजेटसमेत विनियोजन भएको छ । अहिले हामी जनचेतना जगाउने अभियानमा छौँ,’ उनले भने, ‘जनचेतनाले मात्रै हुँदैन । स्थानीयलाई कसरी अभियानमा सहभागी गराउने भन्ने विषयमा समेत छलफल भइरहेको छ ।’
रिचार्ज काठमाडौं अभियान आकाशेपानीलाई इनारमार्फत जमिनमुनि पठाउने कार्यक्रम हो । इनारको पानी प्रयोग गर्नसमेत मिल्ने भएकाले दुईवटा फाइदा रहेको महानगरले जनाएको छ । ‘हामीले आकाशबाट परेको पानीलाई छतबाट सडकमा पठाउँछौँ । जसका कारण सडक पनि बिग्रन्छ, खोलाको सतह बढ्छ र जमिनले पनि सोच्न पाउँदैन,’ श्रेष्ठ भन्छन्, ‘इनारमार्फत आकाशको पानी जमिनमुनि पठाउँदा भूमिगत पानीको सतह पनि बढ्छ र प्रयोग गर्न पनि मिल्छ ।’
महानगरले सहयोग गर्ने
महानगरले अभियानअन्तर्गत एक घर एक इनार कार्यक्रम लागू गर्न स्थानीयलाई सहयोग गर्ने योजना बनाएको छ । आकाशेपानीलाई इनारमा जम्मा गर्न स्थानीयलाई सहयोग गर्ने श्रेष्ठले बताए । ‘छतबाट इनारमा पानी जम्मा गर्न हामीले पनि सहयोग गर्छौं, जनताले पनि केही लगानी गर्नुपर्छ,’ श्रेष्ठले भने, ‘मेलम्ची कहिले आउँछ टुंगो छैन । भूकम्पका कारण पानीको सतह घटेको छ । ट्यांकरको पानी किनेर प्रयोग गर्नुपर्ने बाध्यताबाट केही हदसम्म छुटकरा पाइन्छ ।’
नयाँ घर बनाउँदा रिचार्ज सिस्टम अनिवार्य
महानगरको तथ्यांकअनुसार अहिले काठमाडौंमा दुई लाख ७५ हजार घर छन् । प्रत्येक घरबाट पाँच हजार लिटर पानी जम्मा गरेर जमिनमुनि पठाउन सकिने महानगरको भनाइ छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा घर बनाउँदै पानी रिचार्ज सिस्टम जडानलाई अनिवार्य गर्ने विषयमा छलफल भइरहेको श्रेष्ठले जानकारी दिए । ‘नयाँ घर बनाउनेलाई आगामी आर्थिक वर्षदेखि नै रिचार्ज सिस्टम जडान अनिवार्य गर्ने विषयमा जनप्रतिनिधिसँग छलफल भइरहेको छ,’ उनले भने, ‘हाम्रो अभियान नै एक घर एक इनार हो ।’
विभिन्न समयमा काठमाडौंको जमिनमुनि भएको पानीको सतह मापन गरिएका छन् । ती अध्ययनले सतहभन्दा पानी भेटिने गहिराई बढ्दै गएको देखाएका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अनुसार केही बर्षअघिसम्म ट्युबेलबाट प्रतिमिनेट एक हजार लिटर पानी उत्पादन हुन्थ्यो । अहिले भने प्रतिमिनेट सात सय लिटर पानी उत्पान हुने गरको छ । त्यस्तै, ढुंगेधारा र इनारमा पानी आउन छाडेका छन् । अर्कोतर्फ पानी परेका वेला उपत्यकाका धेरै ठाउँहरू डुबानमा पर्ने गरेका छन् । काठमाडौं महानगरका अनुसार करिब ८३ प्रतिशत जमिन घर वा भौतिक संरचनाले ढाकेको छ । नयाँ पत्रिकामा समाचार छ ।
प्रकाशित मिति: आइतबार, साउन २६, २०७६