काठमाडाैं । शताब्दी पुरुष सत्यमोहन जोशीले कला, संस्कृतिको धनी मध्यपुरथिमि क्षेत्रका ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षणमा चासो दिनुपर्ने बताएका छन् ।
गत विसं २०७२ को महाभूकम्पले भत्किएपछि पुनःनिर्माण सकिएको दक्षिणबाराही मन्दिरको पुनःनिर्माण एवं तामाको पाताको छाना छाउने कार्यको समापन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
जोशीले कला, संस्कृति र पुरातात्विक सम्पदाको संरक्षणमा युवापुस्तालाई जोड्नुपर्नेमा जोड दिँदै ल्याम्ह पुचःजस्ता संस्थाले सम्पदा संरक्षणमा खेलेको भूमिका अरुले अनुशरण गर्नुपर्ने बताए ।
मध्यपुरथिमिको सामाजिक संस्था ल्याम्ह पुचः र दक्षिण बाराही मन्दिर परिसर सुधार एवं व्यवस्थापन समितिले आयोजना गरेको उक्त कार्यक्रममा उनले एक लाख रुपैयाँसम्म सहयोग गर्ने १० जना र त्यसभन्दा कम सहयोग गर्ने ९० जना स्थानीय दातालाई सम्मान गका थिए ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको ६३ लाख ७४ हजार ३ सय ७५ रुपैयाँको लागतमा पुरातत्व विभागको नेतृत्वमा दक्षिण बाराही मन्दिरको पुनःनिर्माण कार्य सम्पन्न भएपछि ल्याम्ह पुचःको नेतृत्वमा ४१ लाख सङ्कलन भएको पुचःका पूर्वअध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिए ।
सङ्कलित रकमले मन्दिरमा तामाको पाताको छाना छाउने, मन्दिरको दायाँबायाँ सिंह राख्ने, ढोका निर्माण गर्ने, घण्टा राख्ने, गजुर राख्ने, ढल व्यवस्थापन गर्ने र थिमिका बासिन्दाको दाहसंस्कार गर्ने मसानको नयाँ संरचनासमेत निर्माणमा ४० लाख १० हजार खर्च भई ९० हजार रुपैयाँ बचत भएको उनले बताए ।
ल्याम्ह पुचःका निवर्तमान अध्यक्ष विजय श्रेष्ठले सरकार र नगरपालिकाको कुनै सहयोग र लगानीबिना नै स्थानीय दाताबाट सङ्कलित रकमबाट मन्दिरको छानोमा तामाको पाता राख्नेदेखि थप संरचना निर्माण गर्न सफल भएको बताए । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्णलाल गोजा श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न वक्ताले सम्पदाको महत्व र संरक्षणका बारेमा चर्चा गरे । रासस
प्रकाशित मिति: आइतबार, साउन २६, २०७६