एक-सिरहा नगरपालिका १९ सन्हैठा गाउँका ५० वर्षीय रामनाथ मल्लिक (डोम) बिहीबार बिहान नजिकैको चोकमा चिया खान गए । उनले चिया मागे । पसलेले उनलाई अरू सेवाग्राहीसँगै बेन्चमा बस्न दिएनन् । चिया प्लास्टिक कपमा दिए । रामनाथ भुइँमै बसेर चिया खाएर घर फर्के । त्यही पसलमा अन्य दलित समुदायलाई सिसा ग्लासमा चिया दिइन्छ । बेन्चमै बस्न दिइन्छ । तर, डोमले बस्न र प्लास्टिक ग्लासमा पाउँदैनन् ।
दुई-अर्नामा गाउँपालिका–५ कृष्णपुरका सुनिता र उदगार मल्लिकका छोराछोरी कृष्ण, अर्जनु र रिमा घरनजिकैको श्री आधारभूत विद्यालयमा पढ्छन् । विद्यालयमा खाजा अरुसँगै खुवाइँदैन । प्लटे बेग्लै छ । उनीहरु सधैं एउटै प्लटेमा खान्छन् । त्यहाँ डोमबाहेक दलित र गैरदलितका छोराछोरी खाजा सँगै खान्छन् । एकअर्कोले खाएको प्लेटमा अर्को दिन खाजा खान्छन् । अचेल सुनिता र उदगार बेग्लै खाजा खुवाए पढ्नै नजाने भन्न थालेका छन् ।
तीन- लहान नगरपालिका–१० की मीना मल्लिकलाई साउन १ गते छिमेकीले कुटपिट गरे । निहुँ थियो सुँगुरले भाँडो छोएको । पाँच दिन अस्पतालमा बसेपछि उनी निवेदन लिएर प्रहरी चौकी पुगिन् । चौकीले मिलापत्र गर्न भन्यो । उनी निराश भएर घर फर्किन् । उनलाई उपचार खर्चबापत २५ सय रुपैयाँ दिएर घटना सामसुम पारियो ।
डोम समुदायमा दिनहुँ यस्ता घटना भइरहेका छन् । उनीहरू घरबाहिर पाइला टेक्नेबित्तिकै भेदभाव र छुवाछुत भोग्न बाध्य छन् । देशमा कानुन, व्यवस्था र सत्ता बदलिए पनि उनीहरूको पीडा बदलिएको छैन ।
विद्यालय, होटल, मठमन्दिर, गाउँघरमा उनीहरू दुःख सहेर बस्न विवश छन् । ‘पूरै बस्तीमा एक्लै घर डोमको हाम्रो छ । सामान्य कुरामा पनि सबैले हप्कीदप्की गर्छन्,’ लहान १० की मीना मल्लिकले भनिन, ‘गैरदलितले त गर्छ–गर्छ छुवाछुत दलितभित्रैका अन्य समुदायले पनि हामीसँग त्यस्तै व्यवहार देखाउँछ । हामी कहाँ जाऊँ ? पशुले कसैको भाँडो छुँदा मानिसलाई कुटपिट किन ? ’ प्रहरी, प्रशासन र नेता कसैले पनि पीडा नबुझेको उनले बताइन् । कुटाइ खाए पनि मिलापत्र गर्नै परेको उनले सुनाइन् ।
डोम समुदाय सुँगुरपालन र बाँसको सामग्री उत्पादन गर्छ । गैरदलित समुदायले उनैबाट कुलदेवतालाई कबुल गरेको पर्वमा सुँगुर किनेर लग्छन् । बलि चढाउँछन् । बिहे र अन्य कार्यमा बाँसको सामग्री किन्छन् । ‘कसैको घरमा बाँसको सामग्री पु¥याउन जाँदा टाढाबाटै राख्न लगाउँछन् । पानीले छर्केर घर लग्छन्,’ सिरहा नपा १९ सन्हैठाका रामनाथ मल्लिकले भने, ‘हाम्रो पसिना र सीप चल्छ तर पानी चल्दैन । समुदायको कुनै पनि सामाजिक कार्यमा हामीलाई सहभागी गराइँदैन ।’ पुस्तौंदेखि भेदभाव सहरै बस्नुपरेको उनले सुनाए ।
जनगणना २०६८ अनुसार सिरहामा डोम समुदायको २३८ घरधुरी छ । उनीहरुको जनसंख्या २२५० छ । उनीहरूको समुदायमा बाक्लो बस्ती हुँदैन । ऐलानी, पर्ती वा सडकछेउमा एक–दुई घर मात्रै छन् । ‘हाम्रो समुदायको पहुँच न त राजनीतिमा छ न राज्यको कुनै निकायमा,’ डोम अगुवा रामचन्द्र मल्लिकले भने, ‘गाउँमा कसैसँग पैसा तिरेर जग्गा किन्न खोजे पनि दिँदैनन् ।’ डोम समुदायको समस्याका विषयमा कुनै दलले आवाज नउठाएको उनले बताए ।
डोम समुदायप्रति अरूको खासै चासो नदेखिएको दलित अधिकारकर्मी विनोद विसुन्केको भनाइ छ । ‘कतै बाक्लो बस्ती छैन । गाउँमा एक्लै हुन्छ । उनीहरुको जीविका गाउँसँग जोडिएको हुन्छ,’ उनले भने, ‘छुवाछुत वा भेदभावको घटनापछि डोम सुमदायले आवाज उठाउँदा उल्टै समाज जाइलाग्छ ।’ आजकाे अन्नपुर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति: शनिबार, साउन २५, २०७६