लुम्बिनी गुरुयोजनाको काम ८२ प्रतिशत पुरा भएको छ । लुम्बिनी विकास कोषको आज बसेको बोर्ड बैठकमा बृहत्तर लुम्बिनी गुरुयोजनाको कामका लागि झण्डै दुई सय अर्ब आवश्यक पर्ने तथा त्यसको व्यवस्थापनको विषयमा पनि छलफल भएको थियो ।
बैठकको अध्यक्षता कोषका अध्यक्षसमेत रहैका नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले गरे । सो अवसरमा मन्त्री भट्टराईले लुम्बिनीको विकासका लागि सबै पदाधिकारी तथा सदस्य एक भएर लाग्नुपर्ने बताए । उनले सरकारले लुम्बिनीको विकासका लागि कुनै कसर बाँकी नराख्ने र त्यसका लागि प्रदेश सरकारसँग आवश्यक सहकार्य गर्ने बताए ।
बैठकमा विभिन्न प्रस्तावमाथि छलफल भएको कोषका निमित्त सदस्यसचिव सरोज भट्टराईले जानकारी दिए। बैठकमा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल र प्रदेशका पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री लिला गिरीसमेत आमन्त्रीत सदस्यको रुपमा उपस्थित थिए । उक्त बैठकमा प्रा केन्जो टाँगेको गुरुयोजना, लुम्बिनी क्षेत्रमा भएका उत्खननको प्रभावकारिता र विश्वसनीयता, बृहत्तर लुम्बिनी क्षेत्रको विकास, लुम्बिनीमा पर्यटकको बसाइ लम्बाउने लगायत प्रस्तावमाथि छलफल भएको भट्टराईले बताए ।
प्रकाशित मिति: शुक्रबार, साउन २४, २०७६