काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरमा स्वास्थ्य परीक्षण सकेर आइतबार मात्र स्वदेश फर्कने भएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन आर्यालले आइतबार अपराह्न प्रधानमन्त्री स्वदेश फर्कने कार्यक्रम रहेको जानकारी दिए । शुक्रबार आउनुहुन्छ कि भन्ने थियो, तर स्वास्थ्य परीक्षण भइरहेको छ, चिकित्सकसँगको परामर्शपछि उहाँ आइतबार मात्रै आउनुहुन्छ , डा अर्यालले भने । यसअघि उनी नियमित स्वास्थ्य परीक्षण गराउन थाइल्याण्डमा गएका थिए ।
प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भइरहेको छ । उनी नियमित स्वास्थ्य परीक्षणका लागि यही साउन १८ गते गएका थिए ।
प्रधानमन्त्रीका साथमा उनीकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी छन्।
प्रकाशित मिति: शुक्रबार, साउन २४, २०७६