नयाँ दिल्ली। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रको नाममा सम्बोधन गर्दै अनुच्छेद ३७० रद्द गर्नुलाई जम्मु काश्मीरमा नयाँ युगको सुरुवात भएको बताएका छन् । उनले पछिल्लो तीन दशकमा करिब ४५ हजार निर्दाेष मानिसको ज्यान गएको बताए । उनले जम्मु काश्मीरमा छिट्टै चुनाव हुने घोषणा पनि गरे । पाकिस्तानले भारतसँगको सबै सम्बन्ध तोडेको घोषणा गरेलगत्तै मोदीले राष्ट्रका नाममा सम्बोधन गरेका हुन् । भारतले जम्मु काश्मीरबाट विशेष अधिकार हटाउँदै राज्यलाई दुई भागमा बाँडेको छ । पाकिस्तानले भने यो निर्णयलाई भारतको अवैधानिक कदम बताएको छ ।
मोदीले आर्टिकल ३७० र ३५ए ले जम्मु काश्मीरमा आतंकवाद, परिवारवाद र भ्रष्टाचार मौलाएको बताए । उनले देशको कानुनबाट जम्मु काश्मीरका मानिस वञ्चित रहेको बताए । उनले शिक्षाको अधिकारको लाभ लिनबाट जम्मु काश्मीरका बालबालिका वञ्चित भएको बताए । ‘देशका अन्य राज्यमा कर्मचारीका लागि छुट्टै ऐन लागू छ । तर, यस क्षेत्रका कर्मचारी यो अधिकारबाट वञ्चित गरिएको थियो । देशको अन्य राज्यमा दलितविरुद्ध हुने अन्याय रोक्नका लागि कानुन लागू छ तर जम्मू काश्मीरमा यस्तो कानुन लागु हुँदैनथ्यो ।’ उनले भने, ‘अब जम्मु काश्मीर नयाँ ऊर्जाका साथ विकास हुनेछ ।
टेक्निकल क्षेत्रको विकास हुनेछ । यहाँको पर्यटकीय क्षेत्रको विकास हुनेछ ।’ संसद्मा बनेका काननु देशको एक भागमा लागू नहुनु दुःखद् विषय भएको बताए । ‘सरकार पटेल, बाबा साहेव अम्बेडकर, डा. श्यामप्रसाद मुखर्जी, अटलजी र करोडांै देशभक्तको सपना पूरा भएको छ । अब देशको सबै नागरिकको हक र दायित्व समान छ ।’ उनले भने, ‘एक राट्र, एक परिवारका रूपमा तपाईं हामीले पूरै देशले एउटा ऐतिहासिक निर्णय गरेका छौं । अब यस क्षेत्रका नागरिकले अधिकार र अवसर पाउनेछन् ।’
उनले जम्मु काश्मीरका जनतालाई सम्बोधन गर्दै भने, ‘म एउटा कुरा स्पष्ट पार्न चाहान्छु तपाईंहरू आफ्नो जनप्रतिनिधि आफंै चुन्न सक्नुहुन्छ र तपार्इंहरूमध्येबाट चुनिनुहुनेछ । यो अधिकार छिट्टै प्राप्त गर्नुहुनेछ,’ उनले पारदर्शी वातावरणमा प्रतिनिधि चुनिने अवसर प्राप्त भएको बताए । ‘यहाँ लोकसभा चुनावमा भोट हाल्ने अधिकार थियो तर विधानसभा र स्थानीय तहको चुनावमा मतदान गर्न सक्दैनथे । अब यो अधिकार प्राप्त भएको छ,’ उनले भने ।
उनले नयाँ व्यवस्थाको माध्यमबाट सबै मिलेर आतंवादलाई जम्मु काश्मीरबाट हटाउँदै यस सुन्दर क्षेत्रलाई विकासको नयाँ आयाम दिएर विश्वलाई उदाहरण देखाउन चाहेको बताए ।
पाकिस्तानले भने भारतको निर्णयको विरोधमा अन्तर्राष्ट्रिय समुदायसँग अपिलसमेत गरेको छ । पाकिस्तानले भारतसँग राजनीतिक सम्बन्धलाई निलम्बित गर्दै व्यापार र यातायात सम्पर्कसमेत तोडिदिएको छ । भारतले भने यो निर्णयलाई आफ्नो आन्तरिक विषय बताएको छ । बुधबार नै भारतीय प्रम मोदीले देशका नाममा सम्बोधन गर्ने तयारी गरेका थिए । तर, पूर्वविदेशमन्त्री तथा बीजेपीकी वरिष्ठ नेत्री सुष्मा स्वराजको निधनका कारण सो कार्यक्रमको मिति परिवर्तन भएको थियो ।
काश्मीरमा भारतले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ भने सो क्षेत्रमा कफ्युसमेत लगाइएको छ । इन्टरनेट, मोबाइल र ल्यान्डलाइन फोन सेवासमेत अवरुद्ध रहेको बीबीसीले बताएको छ । राजधानीमा समाचार छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २४, २०७६