काठमाडाैं । प्रदेश १ का तीन जिल्लामा नेपाल टेलिकमका सबै सेवा अवरुद्ध भएका छन् । बुधबार राति १२ बजेबाट खोटाङ, ओखलढुंगा र सोलुखुम्बू जिल्लामा नेपाल टेलिकमद्वारा वितरित नमस्ते मोबाइल, ल्यान्डलाइन टेलिफोन तथा एडिएसएल सेवा अवरुद्ध भएको हो ।
हावाहुरीले उदयपुरको चित्रेथानमा रहेको टावरमा जडान गरिएको रेडियो लिङ्कको छाता अन्यन्त्र बङ्ग्याएपछि सेवा अवरुद्ध भएको नेपाल टेलिकम खोटाङका प्रमुख खगेन्द्र मगरले जानकारी दिए ।
राजविराजमा रहेको टावरसँग लिङ्क गराएर चित्रे टावरमार्फत सेवा प्रवाह गरिएको छातालाई हावाहुरीले बङ्ग्याएको छ , उनले भने, मर्मत गर्नका लागि प्राविधिकहरु चित्रे टावरमा पुगिसके पनि हावाहुरी चल्नेक्रम नरोकिएकाले टावरमा चढेर मर्मत गर्न सकिएको छैन ।
टेलिकमको सबै सेवा अवरुद्ध भएपछि तीन जिल्लाका सेवाग्राही अहिले सञ्चारविहीन बनेका छन् । टेलिकमको सेवा अवरुद्ध भएपछि अहिले तीनै जिल्लाका सेवाग्राही एनसेल मोबाइल प्रयोग गर्न बाध्य छन् ।
टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा जिल्लामा सञ्चालित सञ्चारमाध्यम, बैंक तथा वित्तीय संस्था, व्यापार–व्यवसायलगायतमा ठूलो असर पुगेको छ । जिल्लामा सञ्चालित अधिकांश बैंक तथा वित्तीय संस्थाले टेलिकमको एडिएसएल सेवा जडान गरेकाले अवरुद्ध हुँदा सेवा ठप्प भएको छ ।
टेलिकमको सेवा अवरुद्ध भएपछि जिल्लामा व्यापार–व्यवसायमा समेत असर पुगेको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताए । अहिले सबै काम टेलिफोन तथा इन्टरनेटमार्फत गरिन्छ , उनले भने, टेलिकमको सबै सेवा अवरुद्ध भएपछि काममा अवरोध पुगेको छ ।
सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई पर्ने असरलाई मध्यनजर गर्दै वैकल्पिकरूपमा उदयपुरकै उदयपुरगढीमा रहेको टावरमार्फत बेला–बेलामा सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको टेलिकमले जनाएको छ । पूरै समय सञ्चालनमा ल्याउन टावरले लोड नधान्ने भएकाले बिहान, दिउँसो र बेलुकालाई लक्षित गरेर समय–समयमा मात्र सञ्चालन गर्ने तयारी गरिएको जनाइएको छ ।
खोटाङ र उदयपुरको सिमानामा पर्ने चित्रेथानबाट माथिल्लो सगरमाथामा पर्ने तीन जिल्लामा लिङ्क पठाउने गरिएको टेलिकमले जनाएको छ । चित्रेको टावर उदयपुर र खोटाङ दुवै जिल्लाबाट अभेगमा रहेकाले पटक–पटक अवरुद्ध हुने गरेको छ । -रासस
प्रकाशित मिति: शुक्रबार, साउन २४, २०७६