सुर्खेत । गत वर्षदेखि दैलेखबाट सुरु भएको ‘बालिका बचाउ अभियान’ सुर्खेतमा पनि सुरु गरिएको छ । बालिकालाई यौन दुर्व्यवहार तथा बलात्कारबारे कानुनी जानकारी गराउनुका साथै उनीहरुको आत्मबल बढाउने उद्देश्यले अभियान सञ्चालनमा ल्याइएको हो ।
गैरसरकारी संस्था भिएसओ/आइसीएसको सहयोगमा यहाँका नौ वटै स्थानीय तहका समुदाय र विद्यालयमा अभियान सञ्चालन गरिने छ । अभियानकी संयोजक सजना सुनारले दैलेखका विभिन्न समुदाय र विद्यालयमा अभियान प्रभावकारी भएपछि सुर्खेतमा पनि सुरु गरिएको जानकारी दिइन् । अभियानबाट बालिकाले कानुनी ज्ञान हासिल गर्नुका साथै आत्मबल बढ्ने हुँदा यौनजन्य हिंसामा कमी हुने उनले विश्वास व्यक्त गरिन् ।
संयोजक सुनारका अनुसार वीरेन्द्रनगर नगरपालिकाको वडा नं १ बाट अभियान सुरु भइसकेको छ । आवश्यकताका आधारमा अन्य स्थानमा पनि अभियान सञ्चालन गर्नेछौँ , उनले भनिन्, जनप्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारी, अभिभावक र बालिकालाई अभियानमा प्रत्यक्ष सहभागी गराइएको छ, मुख्य उद्देश्य त बालिकाहरुको आत्मबल बढाई यौनजन्य हिंसाविरुद्ध प्रतिकारमा उर्तानु नै हो ।
प्रकाशित मिति: बिहीबार, साउन २३, २०७६