बागलुङ । बडीगार्ड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमा तुरतुरेमा सोमबारदेखि मध्यपहाडी (पुष्पलाल) लोकमार्ग अवरुद्ध छ । तुरतुरे ताल फुट्दा बडीगार्ड खोलामा आएको बाढीले लोकमार्ग बगाएको थियो ।
लोकमार्ग खुल्न अझै तीन साता लाग्ने जनाइएको छ । लोकमार्ग आयोजनाका इन्जिनियर अर्जुन गौतमका अनुसार १० मिटर माथिबाट नयाँ मार्ग खोल्ने काम सुरु भएको छ । भदौ १० गतभित्रै यातायात नियमित गर्ने लक्ष्य छ , उनले भने, ब्रेकर लगाएर पहरा काटनुपर्ने भएकाले समय बढी लाग्ने भयो ।
तल बाढीको कटान र माथि भीर भएकाले एउटाभन्दा बढी डोजर प्रयोग गर्न नसकिने उनको भनाइ थियो । बाढीले झण्डै साढे दुई सय मिटर सडक भत्काएको छ । अहिले अस्थायी मार्ग खोल्ने र पछि खोला घटेपछि पुरानै ठाउँबाट सडक बनाउने योजना छ ।
लोकमार्ग पुरानै अवस्थामा फर्काउन समय लाग्ने देखिन्छ । नाम निशानै नरहने गरी लोकमार्ग भत्केको छ । फेरि पूरै संरचना बनाउनुपर्छ , इन्जिनियर गौतमले भने । गत वर्ष पनि त्यही ठाउँमा गएको पहिरोले लामो समय लोकमार्ग अवरुद्ध पारेको थियो ।
पहिरोले बडीगार्ड खोला थुनिँदा करिब एक सय किमी क्षेत्रफलमा ताल बनेको थियो । सोही ताल फुट्दा लोकमार्गमा क्षति पुगेको हो । लोकमार्ग अवरुद्ध बनेपछि पश्चिम बागलुङको यातायात सेवा प्रभावित बनेको छ ।
सदरमुकाम बागलुङ बजारदेखि ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिकासम्मको सिधा सडक सम्पर्क टुटेको छ । पश्चिमको व्यापारिक केन्द्र बुर्तिवाङबाट छोटो तथा लामो दूरीमा चल्ने सवारीसाधन ठप्प छन् ।
लोकमार्गसँग जोडिएको छिमेकी रुकुमतर्फ पनि सवारीसाधन चल्न सकेका छैनन् । सदरमुकामसँगै पोखरा, बुटवल, काठमाडौँबाट पश्चिम जाने सवारीसाधन बडीगार्ड गाउँपालिका–७ घोपर्नासम्म मात्रै पुग्ने गरेका छन् । बूर्तिबाङ क्षेत्रबाट छुट्ने सवारीसाधन ढोरपाटन नगरपालिका–२ तुरतुरेनजिक आएर रोकिन्छन् ।
लोकमार्ग अवरुद्ध भएको क्षेत्रमा झण्डै एक घण्टा हिँड्नुपर्ने अवस्था रहेको स्थानीयवासी दिनेश शर्माले बताए । हिँड्ने बाटो पनि साह्रै जोखिमयुक्त छ उनले भने, बिरामी, बालबच्चा, ज्येष्ठ नागरिक र अशक्तलाई साह्रै सास्ती छ ।
अवरुद्ध भएको ठाउँ पैदल पार गरेपछि यात्रु गाडी बदलेर गन्तव्यतर्फ लाग्ने गरेका छन् । यात्रु बोक्ने सवारीसाधन वारिपारि भएर चले पनि खाद्यन्न र निर्माण सामग्रीको ढुवानी भने ठप्पै छ । लोकमार्ग नियमित हुन ढिलो भए दैनिक उपभोग्य वस्तुको अभाव हुने स्थानीयवासी बताउँछन् ।
बडीगार्ड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले घोपर्नाबाट तुरतुरे जोड्ने अर्को वैकल्पिक मार्ग सञ्चालनका लागि पनि प्रयास भइरहेको बताए । तलको भन्दा यो सडक छिट्टै सञ्चालनमा ल्याउन सकिन्छ , उनले भने, साता÷दश दिनमै तुरतुरेमा जोड्न सकिने सम्भावना छ । रासस
प्रकाशित मिति: बिहीबार, साउन २३, २०७६