बुटवल । रूपन्देहीमा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा भूमाफियाहरूले करोडौं मूल्य पर्ने सरकारी जग्गा हत्याउन खोजेको पाइएको छ।
व्यक्तिका नाममा लालपुर्जै बनाएर सरकारी जग्गा किनबेच गर्न खोजेपछि सो घटना बाहिरिएको हो। जिल्लाको मायादेवी गाउँपालिका–४ झुलनीपुरस्थित २ बिघा ३ कट्ठा १ धुर जग्गा सरकारी स्रेस्ता कायम भएको जग्गा हो। २४ करोड रुपैयाँभन्दा बढी मूल्यको सो जग्गा निर्माणाधिन भैरहवा–लुम्बिनी चार लेन सडकसँग जोडिएको छ, जुन बुद्धको जन्मस्थल लुम्बिनीनजिक पर्छ।
साबिकको सेमरी गाविस–९ ‘ख’अन्तर्गत ५२ नम्बर कित्ताको सो जग्गाको सरकारी स्रेस्ता अहिले पनि जिल्ला नापी र मालपोतमा कायम छ। तर भूमाफियाहरूले सोही जग्गा हत्याउन व्यक्तिको नाममा लालपुर्जा नै बनाइसकेका छन्। गुलाम हैदर कुजडा र जैनुल मु. कुजडाका नाममा लालपुर्जा बनाइएको हो। नागरिकलाई प्राप्त लालपुर्जामा उनीहरूको ठेगाना सि.न.पा. (सिद्धार्थनगर नगरपालिका) वडा ४ उल्लेख छ। जसमा दुईवटा नागरिकता नम्बर ३७/७०६६३ (जारी मिति २०३४/४/३१) र ३७/६४१४ (जारी मिति २०४०/८/२७) समावेश छ।
लालपुर्जामा मालपोत कार्यालय रूपन्देहीको छाप र अधिकृतको हस्ताक्षर छ। मालपोत कार्यालय भैरहवाका प्रमुख कुमार आचार्यले ५२ नम्बर कित्ता जग्गा सरकारी भएको स्पष्ट पारे। सरकारी जग्गा हत्याउन प्रयोग गरिएका कागजपत्र नक्कली भएको दाबी गर्दै उनले कार्यालयको कागजपत्र र छाप दुरुप्रयोग गर्नेविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाइने उल्लेख गरे।
स्थानीय तहमा समेत सरकारी जग्गाको तिरो कुजडाकै नाममा तिरिएको देखिन्छ। सम्बन्धित वडाध्यक्षले कुजडाकै नाममा चार किल्ला प्रमाणित गरिदिएका छन्। चार किल्ला प्रमाणित, तिरो तिरेको रसिद र लालपुर्जालाई आधार बनाएर नै भूमाफियाले जग्गा हत्याउन खोजिरहेका छन्।
यसअघि साबिकका गाविसले ५२ नम्बर कित्ताको सरकारी जग्गामा बोलपत्र आह्वान गरी व्यक्ति वा समूहलाई माछापालनका लागि भाडामा लगाउँदै आएको थियो। तर मायादेवी गाउँपालिकाको वडा कार्यालयलले भने २०७५ भदौ १७ गते गुलाम हैदर/जैनुल कुजडाकै नाममा जग्गाको तिरो बुझेको छ।
वडा ४ का वडाध्यक्ष धर्मपाल लोधले २०७५ असोज २८ गते कुजडाकै नाममा चार किल्ला प्रमाणित गरिदिएका छन्। यसले पनि सरकारी जग्गा व्यक्तिको नाममा बनाउन वडाध्यक्षकै संलग्नता हुनसक्ने स्रोतको दाबीलाई बल पुगेको छ। तर वडाध्यक्ष लोधले नागरिकसँग आफूले नजानेर गल्ती गरेको बताए।
केही व्यक्ति जग्गाको लालपुर्जा नै लिएर आएपछि चार किल्ला प्रमाणित गरीदिएको उनको भनाइ छ। लोधले वडाका तत्कालीन सचिव रिंकु हरिजनले आफूलाई फसाएको दाबी गरे। ‘त्यतिबेलाका सचिव रिंकु हरिजनले सबै कुरा ठीक छ, तोक लगाइदिनुस् भनेपछि विश्वासमा काम गरेको हुँ,’ उनले भने।
गाउँपालिकाका वडाध्यक्ष सचिव र मालपोतका कार्मचारीको मिलेमतोमै सरकारी जग्गा हत्याउन खोजिएको दाबी झुलनीपुरका स्थानीयको छ।
सो गाउँका हबिब मोहम्मद मुसलमानले वर्षौंदेखि स्थानीयले भाडामा माछापालन गर्दै आएको सरकारी जग्गा खरिद गर्न बुटवल, भैरहवा र काठमाडाैंबाट जग्गा कारोबारीहरू आउन थालेपछि गाउँलेले थाहा पाएको बताए। ‘हामीले जान्दादेखि नै यो जग्गा सरकारी थियो अहिले कसरी एकाएक व्यक्तिको भयो ?’ ५२ नम्बर कित्ताका सँधियार मुसलमानले प्रश्न गरे। सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिए त्यसको विरोधमा सिंगो गाउँ उत्रने चेतावनी उनले दिए।
गुलाम हैदरका छोरा मोहम्मद नबिब कुजडालगायत केही कारोबारीले जग्गाधनी पुर्जा, तिरो तिरेको रसिद, चौकिल्ला प्रमाणित कागजातलगायत देखाएर जग्गा किनबेचका लागि केही व्यक्तिसँग मोटो रकम बैना गरिसकेको पनि स्रोतको दाबी छ। नागरिकमा समाचार छ ।
प्रकाशित मिति: बिहीबार, साउन २३, २०७६