काठमाडौं । बारीमा पाती पलाउनुलाई राम्रो मानिन्न । यसले अरू बोटबिरुवा सप्रन दिँदैन । कतिले छरछिमेकमा झगडा भयो भने तेरा बारीमा पाती पलाओस् भन्न पनि पछि पर्दैनन् ।
तर, त्यही पाती अर्थात् तितेपातीमा अपार औषधीय गुण हुन्छ, आम्दानीको स्रोत बन्नसक्छ भन्ने अझै नेपाली समाजमा व्यापक चेतना फैलिन सकेको छैन । समुद्री सतहको तीन सयदेखि दुई हजार चार सय मिटर उचाइका खुला कुना, कन्दरा र सेपिलो तथा बन्जर भूमिमा समेत सर्लक्क फैलन्छ तितेपाती । फूल फुल्ने बिरुवाअन्तर्गत पर्ने तितेपातीको वैज्ञानिक नाम आर्टिमिसिया भल्ग्यारिस हो । नेपालमा भने भूगोलअनुसार करिब छ प्रजातिका तितेपाती पाइन्छन् ।
नेपालमा तितेपातीको औषधीय गुणको गहन अध्ययन र परीक्षणबाट ठोस प्रतिफल वैज्ञानिक तहबाट प्राप्त हुन सकेको छैन । केही स्थानीयले भने राम्रो प्रयास गरिरहेका छन् । दिक्तेल रुपाकोट, मझुवागढी नगरपालिका– १० पाथेकास्थित स्थानीयले तितेपातीको तेल निकालेका छन् । भदौ र असोज महिना तेल निकाल्ने उपयुक्त मौसम हो ।
गत वर्ष गाउँका स्थानीय मिलेर समृद्धिपथ एग्रो कम्पनी स्थापना गरे । कम्पनीका अध्यक्ष अग्नि राई भन्छन्, परीक्षण सफल भएपछि तेल आउँदो रहेछ भनेर थाहा पायौँ, गत वर्ष करिब ४५ केजी तेल निकाल्न सफल भयौँ ।
अध्यक्ष राईका अनुसार तितेपातीको तेल पानीभन्दा हलुका हुन्छ । एक हजार मिलिलिटर पानीको एक केजी हुँदा तितेपातीको तेल भने एक हजार दुई सय मिलिलिटरको एक केजी हुन्छ । आसपासका गाउँमा यसअघि नै भएको परीक्षण असफल बनेको उनले थाहा पाएका थिए । मेसिन बनाएर तितेपातीको तेल निकाल्न सफल भएको उनले बताए ।
कीराबाट बचाउन प्रयोग
तितेपातीको तेलबाट हाड दुखाइको औषधि, चिलाउने रोगको औषधि, उच्च रक्तचाप र ज्वरोको औषधि बनाउने अनेकौँ सम्भावना रहेको विज्ञहरू औँल्याउँछन् ।
त्रिभुवन विश्वविद्यालयका वनस्पति अध्येता सञ्जय झाले तेल निकालेर बनाएको ट्याब्लेटबाट खाद्यान्नका घुनकीरा मार्न प्रयोग भइरहेको बताए । उनका अनुसार बाली भित्र्याउनुअघि र पछि चार–पाँच दिनसम्म यस औषधिलाई भाँडामा राखेर छाड्दा कीरा भाग्ने गर्छन् ।
नेपालमा परम्परागत रूपमा तितेपातीको उपयोग र बढी प्रयोग भइरहेको वनस्पतिविज्ञ तीर्थबहादुर श्रेष्ठले बताए । उनले भने, चीनले तितेपातीको औषधिबाटै नोबल पुरस्कार जित्यो, जापानले नेपालमै आएर तितेपातीको पाउरोटीको परीक्षण गर्यो तर नेपालले ठूलो उपलब्धि पाएको छैन ।
विज्ञ श्रेष्ठका अनुसार आयुर्वेदिक महत्वको वनस्पति तितेपाती नेपालका लेकमा जुका फाल्न र तल्लो भेगमा बिरुवालाई कीराबाट बचाउन बढी प्रयोग भइरहेको छ । तितेपातीको फरक गुणको फरक उपयोगका लागि अनुसन्धान हुन नसकेको उनले बताए । नेपालमा तितेपातीको गहन अध्ययन र परीक्षण नभएकोमा उनकाे चिन्ता छ ।
मलेरिया निको पार्न सकिने
तितेपातीमा भएको लामो अनुसन्धानपछि परम्परागत औषधिबाट मलेरिया निको पार्न सकिने खोजमा चीनले सफलता पाइसकेको छ । जसका कारण सन् २०१५ को फिजियोलोजी अर्थात् औषधितर्फको नोबेल पुरस्कार चीनले प्राप्त गर्यो ।
चाइनिज एकेडमी अफ मेडिकल साइन्सका वैज्ञानिक युयुटुको नेतृत्वका अनुसन्धानकर्मीले सन् १९६५ देखि गरेको अध्ययनको प्रतिफलका रूपमा त्यो खोज सम्पन्न भएको थियो । क्यान्सर रोगको उपचारसमेत सम्भव गर्न सक्ने औषधीय गुण तितेपातीमा पाइने वनस्पतिविज्ञ बताउँछन् । यसको खोज र अनुसन्धानमा यतिबेला जापान, जर्मनी, भारत, पाकिस्तान पनि सक्रिय छ । कतै अत्तर निकालिरहेका छन् भने कतै विभिन्न औषधि उत्पादन भइरहेको छ । गाेरखापत्रमा समाचार छ ।
प्रकाशित मिति: बिहीबार, साउन २३, २०७६