काठमाडाैं । प्रमुख प्रतिपक्षी कांग्रेसको एउटै विषयमा बैठक अल्झेको एक महिना भइसकेको छ । महिना दिनमा १० बैठक बसिसके, तर नतिजा भने अझै निस्केको छैन । विधानअनुसार अन्तरिम संरचना गठनका लागि एक महिनाअघि सुरु केन्द्रीय समिति बैठक अझै जारी छ । थप गृहकार्य गर्न भन्दै स्थगित बैठक आइतबारदेखि फेरि सुरु हुँदै छ ।
देश संघीयतामा गएको तीन वर्षपछि आफ्ना संरचनालाई यसैअनुरूप ढाल्ने भन्दै विधान संशोधन गरेको कांग्रेसले त्यस्ता संरचना गठन गर्न सकेको छैन । विधानमा बुथ, वडा, पालिका, प्रदेश क्षेत्र, संघीय क्षेत्र, प्रदेश गरी ६ तह संरचनाको व्यवस्था छ । केही जिल्ला कार्यसमिति पनि गठन गर्नुपर्नेछ ।
गत पुसमा महासमिति बैठकले विधान संशोधन गरी आठ तहका संरचना गठनको निर्णय ग-यो । त्यसको दुई महिनापछि केन्द्रीय समितिले विधान पास गरी निर्वाचनबाटै यस्ता संरचना गठन गर्ने निर्णय ग-यो । तर, छोटो समयमा अन्तरिम संरचना र १४ औँ महाधिवेशनको कार्यक्रम गरी दुईपटक निर्वाचन नगर्ने भन्दै सहमतिबाटै संरचना गठनमा नेता जुटेका छन् ।
एकमहिने बैठकका क्रममा नेता सहमतिबाटै संरचना गठन गर्ने सहमतिनजिक पुगेको बताएका छन् । महिनाभरि केही नेताले दुईपटक र तीनपटकसहित गरी बैठकमा एक सय २० जनाले बोलिसकेका छन् । कांग्रेसमा ८४ केन्द्रीय र नौ आमन्त्रित गरी ९३ सदस्यीय कार्यसमिति छ । नयाँ पत्रिकाले लेखेकाे छ ।
निर्देशिका बनाउन पाँच दिनले नपुगेपछि फेरि चार दिन थपियो
निर्देशिका तयारीमा जुटेका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले आफूहरूले एक खालको खाका बनाएको भन्दै शीर्ष नेतासँग थप छलफल गरेर टुंगो लगाउने जानकारी दिए ।
‘हामीले मोटामोटी एउटा खाका बनाएका छौँ, तर यसमा शीर्ष नेतासँग थप छलफल आवश्यक भएकाले केन्द्रीय समितिको बैठक स्थगित गरी थप गृहकार्यमा जुट्ने कुरा भएको छ,’ रिजालले भने, ‘त्यसैले केन्द्रीय समिति बैठक बुधबारबाट आइतबारसम्मका लागि सारिएको छ ।’
प्रकाशित मिति: बिहीबार, साउन २३, २०७६