काठमाडौं । कति सपना देखेका थिए दोर्जे लामा र निशाले आफ्नो दोस्रो सन्तानका बारेमा ! तर यो सपना सबै चकनाचुर पारिदियो ग्रान्डी इन्टरनेसनल अस्पतालले । पहिलो बच्चा १० वर्ष भइसकेकाले दोस्रो बच्चाको योजना बुनेको दोर्जे दम्पत्तिले ग्रान्डीका डा. पवनराज पन्तसँग झण्डै डेढ वर्षदेखि सल्लाह लिँदै आएको थियो । डा. पन्तकै सल्लाहमा दोस्रो बच्चा जन्माउने योजना बनाउनुभएका उनीहरू गर्भमा जुम्ल्याहा बच्चा बसेको खबरले थप गद्गद् थिए ।
व्यवसायमा निकै व्यस्त दोर्जे जुम्ल्याहा जन्मिने खुसीले श्रीमती सुत्केरी हुने दुई महिनाअघिदेखि अस्पतालकै सल्लाहबमोजिम श्रीमती र पहिलो सन्तानको रेखदेखमा तल्लीन हुँदै आएका थिए । तर त्यस्तो खुसी छाएको नाै महिना पनि नबित्दै कहिल्यै नमेटिने पीडा आइलाग्यो । १८ दिनको एउटा नवजात शिशु काखमा समेत लिन पाएनन् उनीहरूले । यो पीडा स्त्रीरोग विशेषज्ञ पन्तले भन्दा पनि ग्रान्डीको एनआईसीयू विभागमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीको हदैसम्मको लापरवाही र व्यवस्थापन पक्षको कमाउधन्दाले दिएको थियो । यस्तै ठम्याई छ मृतक नवजात शिशुका पिता दोर्जेको ।
दोर्जे भावुक हुँदै भन्छन्– जुम्ल्याहामध्येको ठूलो बच्चा त्यस्तो लापरबाहीले गुमाउनुपर्यो भने त्यही ग्रान्डीमा राखेको भए सानो बच्चा पनि देख्न नपाउने रहेछौँ, श्रीमती निशा त पटकपटक मूर्छा पर्छिन् । सानो बच्चा जोगाउन तिम्रो खाँचो छ भन्दै सम्झाएर होसमा ल्याउनुपरेको छ उनलाई ।’
दोर्जे रोकिनै सक्दैनन् । २४सै घण्टा चिकित्सक र स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार गराइने एनआईसियूमा दोर्जेको दुईट बच्चा अक्सिजनसमेत लाउनु नपर्ने अवस्थामा गत असार २० गते जन्मेका थिए । तर ठूलोमा समस्या आएको देखाई एनआईसीयुमा राखी चाहिने/नचाहिने अनेक खालका परीक्षण गरियो । तर १७ हौँ दिनमा एकाएक सोही बच्चामा अक्सिजन कम भयो भनी अक्सिजन चलाउने जानकारी गराइयो । त्यसपछिलगत्तै २ घण्टा बित्न नपाउँदै भेन्टिलेटरमा राख्नुपर्ने निर्देशन आयो ।
त्यसको १२ घण्टा नबित्दै बच्चा बचाउन नसकेको भन्ने खबर आयो । दोस्रो बच्चा पनि पीडित छ । एउटा हातको घाउ पाकिसकेको छ भने अर्को हातमा पूरा निलो छ । त्यहाँबाट निशान अस्पताल नलगेको भए सानो बच्चाको पनि त्यही हालत हुने थियो । ग्रान्डीले राक्षसी व्यवहार गरेर एउटा बच्चा मारिदियो, अर्कोलाई असक्त बनायो । निशान अस्पतालले भने ग्रान्डीले अत्यन्तै जटिल अवस्थामा पुर्याएको बच्चाको उपचार गरेर सकुशल फर्काइदियो । हाम्रा जीवनमा निशानका चिकित्सकहरु भगवान नै भैदिए ।’
आफूहरूलाई जस्तै बज्रपात कसैलाई नपरोस् भनेर शुभचिन्तक र आमसञ्चारमाध्यमहरूले साथ दिइरहेको दोर्जे बताउँछन् । अस्पताल पक्षले आन्तरिक रुपमा घटना मिलाउन मंगलबार नै आग्रह गरे पनि अस्पताल सञ्चालककै समय नमिलेकाले बुधबार वार्ता रद्द गरेको थियो ।
दोर्जेको परिवारले ग्रान्डीमा मृत्यु भएको बच्चाको लाश अहिलेसम्म बुझेको छैन । ग्रान्डीले सार्वजनिक रुपमै गल्ती स्वीकार नगरे र सरकारले छानविन समिति नबनाएसम्म लाश नबुझ्ने उनीहरूको अडान छ ।
सोही अस्पतालका निर्देशक डा.चक्रराज पाण्डेले भने महाराजगञ्ज प्रहरी बिटबाट खटिएका प्रहरीको रोहबरमा अस्पताल र चिकित्सक कर्मचारीको कमजोरी स्वीकारे पनि उनीहरुउपर कुनै कारबाही नभएको बताए ।
यसैबीच नेपाल मेडिकल काउन्सिलले बुधबार यसै विषयमा उक्त अस्पतालसँग यथार्थता माग गरेको छ ।
यति मात्र हाेइन, एक महिनाअगाडि पनि ग्रान्डी अस्पतालकै एनआईसीयुमा भएको लापरबाहीका कारण सञ्जीव न्यौपानेको बच्चामा एनआईसियु कक्षमै संक्रमण भई पाँच पटकसम्म शल्यक्रिया गर्दा जीर्ण बनाएको थियो । उक्त विषयमा छानबिनका लागि मुद्दा दायर भएकाले काउन्सिलले त्यस विषयमा स्पष्टीकरण माग गरेको छ । काउन्सिलले लिखित उत्तरसहित एनआईसीयू विभाग र अस्पतालका प्रमुखलाई काउन्सिलमा बोलाएको स्रोतले जनाएको छ ।
उक्त अस्पतालप्रति धेरैको धारणा सकारात्मक नभएको दाबी गर्दै समाचार स्रोत भन्छ– बिरामीमाथि आर्थिक र मानसिक शोषण गर्दै आएको देख्दा ठूलो आक्रोस उम्लिन्छ । अस्पतालको अनुगमन गर्ने निकाय स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल काउन्सिल मान्छे मरिसक्दा पनि गम्भीर छैनन् । उनीहरू उल्टै लाचार हुँदै भन्छन्–मिडियाबाट सुनेका हौँ, लिखित उजुरी नपरेकाले छानविन गरेका छैनाैं ।’ समाचारपत्रमा खबर छ ।
प्रकाशित मिति: बिहीबार, साउन २३, २०७६