नेपालमा आगामी मङ्सिर १५ देखी २४ सम्म हुने १३ औँ दक्षिण एशियाली खेलकूद (साग) को महिला फुटबलका लागि आवश्यक अभ्यास मैदान स्तरोन्नतिको कार्य धमाधम भइरहेको छ ।
पोखरा महानगरपालिका–१९ स्थित गोष्तेघाट तथा वडा नं– २५ स्थित गौरीशङ्कर माविको खेलमैदानलाई अभ्यास मैदान बनाउने उद्देश्यले साग अगाडिनै ती दुबै मैदान स्तरोन्नतिको काम सम्पन्न गरिसक्ने योजना छ ।
विजयपुरस्थित नेपाली सेनाको हाताभित्र रहेको मैदानलाई पनि अर्को अभ्यासस्थल बनाउने योजना छ । गोष्तेघाट खेल मैदानको निर्माणका लागि राष्ट्रिय खेलकूद परिषद्ले यसवर्ष एक करोड बजेट विनियोजन गरेको छ भने पोखरा महानगरले ५० लाख बजेट विनियोजन गरेर धमाधम निर्माण कार्य भइरहेको छ ।
सो मैदान निर्माणका लागि हालसम्म एक करोड ८० लाख खर्च भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्रमानसिँह भण्डारीले बताए। मैदानलाई सम्माउने र ‘चेञ्जिङ रुम’ निर्माणको शुरुआत् गरिएको बताउँदै उहाँले असोजभित्रमा निर्माण सम्पन्न हुने जानकारी दिए।
पोखरा महानगर २५ स्थित गौरीशङ्कर खेल मैदानमासमेत यति बेला धमाधम दूबो रोप्ने, ‘प्यारापिट’ तथा ‘चेञ्जिङ रुम’ निर्माणको तयारी गरिएको छ । गतवर्ष राखेपको रु ५० लाखले मैदान सम्याउने र नाली बनाउने काम सम्पन्न भएकोमा यस वर्षमा उक्त मैदानका लागि थप एक करोड करोड आएको थियो ।
पोखरा रङ्गशालाभित्र निर्माणाधीन अन्तर्राष्ट्रिस्तरको फुटबल रङ्गशालामा सागको महिला फुटबल खेल सञ्चालन गर्ने तयारी गरिएको छ । सोही रङ्गशालामा खेल सञ्चालन हुने भएकाले राष्ट्रिय खेलकूद परिषद्(राखेप)ले आगामी कात्तिक १५ गते अगावै मैदान निर्माणको सम्पूर्ण काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिइसकेको छ ।
अभ्यास मैदानका लागि तोकिएका निर्माणाधीन दुई मैदानको निरीक्षण गर्दै राखेपका सदस्य राजेश गुरुङ नेतृत्वको खेलकूद सङ्घका पदाधिकारीको टोलीले दुबै अभ्यास मैदानको काम समयमै सम्पन्न गर्न निर्देशन दिएको छ ।
सदस्य गुरुङले पोखरामा सागको तयारी शुरु भइसकेको र समयमै आवश्यक पूर्वाधार निर्माण गरेर प्रतियोगितालाई भव्य बनाइने बताउनुभयो । सागमा सात खेल पोखरामा खेलाउने तयारी गरिएको छ ।
प्रकाशित मिति: बुधबार, साउन २२, २०७६